रंजिता सिंह बर्दिवास, श्रावण २८ गते ।
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सञ्जाल)को आयोजना तथा सेभ द चिल्ड्रेनको सहयोगमा बालबालिका मानवअधिकार रक्षकहरुका लागि क्षमता अभिवृद्धि तालिम श्रावण २४ गते सम्पन्न भएको छ ।
श्रावण २२ गतेदेखि तीन दिनसम्म मधेश प्र्रदेशको बर्दिवासमा सञ्चालन भएको तालिममा मधेश प्रदेशको सिरहा, महोत्तरी, रौतहट र पर्सा जिल्लाका विभिन्न बाल क्लव, बाल सञ्जाल, किशोरी सञ्जाल तथा संस्थाहरुमा आवद्ध २२ जना बालबालिका मानवअधिकार रक्षकहरुको सहभागिता रहेको थियो ।
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सञ्जाल)का केन्द्रिय अध्यक्ष मिना शर्माले सिजपले बालबालिका मानव अधिकार रक्षकहरूको क्षमता अभिवृदि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताउदै बालिबालिका मानवअधिकार रक्षकको हैसियतमा आफनो तथा दौतरीहरुको अधिकारको प्रवद्र्धन, संरक्षण तथा परिपूर्तिका लागि आफ्ना भूमिकाबारे जान्न र तीनलाई व्यवहारमा प्रयोग गर्न सशक्तिकरण गरिने बताउनु भयो । उहाँले तालिमलाई अवसरको रुपमा ग्रहण गर्न र
बालबालिका मानवअधिकार रक्षकले गर्नुपर्ने भूमिकाबारे प्रस्ट हुन आग्रह गर्नु भयो । उहाँले तालिम पश्चात तालिमका सहभागी बालबालिका मानवअधिकार रक्षकहरुलाई तालिममा सिकेका कुरा अनुभव आदान प्रदान एवम् बालबालिका मानवअधिकार रक्षकको सञ्जाल विस्तार एवम् सशक्तिकरणका लागि विउपूँजी प्रदान गरी सक्षमता बढाउने योजना रहेको बताउनु भयो ।
तालिममा बालअधिकार तथा मानव अधिकारको अवधारणा, मान्यता तथा सिद्धान्तहरू, बालअधिकार
सम्बन्धि महासन्धी, बालअधिकारका लागि भएका राष्ट्रिय तथा अन्तराष्ट्रिय नीति तथा कानुन, बालअधिकारका लागि नेपालमा भएका प्रयासहरु, बालसंरक्षण, बालबालिका मानवअधिकार रक्षकको परिचय, अधिकार दायित्व तथा चुनौति लगायतको विषयमा छलफल गरिएको थियो ।
तालिममा मानवअधिकारकर्मी समग्र जनउत्थान केन्द्रका अध्यक्ष रामभरोसी महतो र सिजपका अध्यक्ष मिना शर्माले सहजीकरण गर्नुभएको थियो ।
Discussion about this post