फागुन १ देखि नेपाल फुटबल लिग सुरु हुने

Picture of हरियो पाटी

हरियो पाटी

512
SHARES
701
VIEWS

काठमाडौं । नेपाली फुटबललाई व्यावसायिक बनाउने लक्ष्यसहित नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण आगामी २०८३ फागुन १ गतेदेखि सञ्चालन हुने भएको छ । एनएफएलका अध्यक्ष कल्याण गुरुङले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाली फुटबलमा नयाँ अध्यायको सुरुवात गर्ने उद्देश्यसहित लिग आयोजना गर्न लागिएको जानकारी दिएका हुन् ।

गुरुङका अनुसार नेपाली फुटबलको विकास, विस्तार र व्यावसायिकताका लागि नेपाल फुटबल लिग नयाँ पहलका रूपमा अघि बढाइएको हो ।

नेपालको सबैभन्दा लोकप्रिय खेल फुटबल भए पनि अपेक्षाकृत ठूलो सफलता हासिल गर्न नेपाली फुटबलले लामो समयदेखि संघर्ष गरिरहेको उल्लेख गर्दै उनले वर्तमान चुनौतीपूर्ण परिस्थितिमा फुटबललाई नयाँ दिशामा अघि बढाउन सबै पक्ष एकजुट हुनुपर्ने बताए ।

हाम्रो एउटै उद्देश्य नेपाली फुटबललाई पूर्ण व्यावसायिक बनाउने हो,’ गुरुङले भनेका छन्, ‘यो गन्तव्यमा पुग्न समय लाग्ने भए पनि लक्ष्य प्राप्तिका लागि हामी हरपल मिहिनेत गर्नेछौं ।’

एनएफएलको पहिलो संस्करणमा घरेलु फुटबलका सात पुराना क्लबसहित अन्य नयाँ टोलीले प्रतिस्पर्धा गर्नेछन् । लिगमा काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी फुटबल क्लब, धनगढी एफसी र झापा एफसी सहभागी हुनेछन् ।

यी सात सहरबाहेक अन्य सहरका टोलीलाई समेत प्रतियोगितामा समेट्ने योजना रहेको अध्यक्ष गुरुङले जानकारी दिएका छन् ।

रंगशालाको उपलब्धताअनुसार एनएफएलका खेल होम एन्ड अवे प्रणालीमा सञ्चालन गरिनेछ । तयारी अवधिसमेत जोड्दा प्रतियोगिता करिब चार महिनासम्म चल्ने आयोजकको योजना छ । देशका विभिन्न सहरमा खेल सञ्चालन गर्दा देशव्यापी रूपमा फुटबलको वातावरण निर्माण हुने विश्वास आयोजकले लिएको छ ।

एनएफएल क्लबहरूकै अग्रसरतामा घरेलु फुटबललाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित स्थापना गरिएको साझा संस्था भएको गुरुङले बताएका छन् । उनका अनुसार एनएफएलले नै लिगको आयोजना गर्नेछ भने सहभागी क्लबहरू सदस्यका रूपमा रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित