काठमाडौं – सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकार धरपडकको घटनाबारे छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा शनिबार बसेकाे रास्वपाको सचिवालय बैठकले सञ्चारकर्मीमाथि भएको सोधपुछ, धरपकड तथा पक्राउको घटनाबारे छलफल गर्दै सरकारलाई यस्तो निर्देशन दिएको हो ।
बैठकका निर्णय सार्वजनिक गर्दै पार्टी प्रवक्ता जगदीश खरेलले पत्रकार पक्राउ प्रकरणमा पार्टीले आफ्नो धारणा यसअघि नै सार्वजनिक गरिसकेको र सचिवालय बैठकले त्यसलाई थप स्पष्ट पारेको बताए ।
‘हिजो सञ्चारकर्मीसँग सोधपुछ, धरपकड वा पक्राउबारे राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो धारणा हिजै दिइसकेको छ । सचिवालय बैठकबाट थप स्पष्ट पारेको छ,’ खरेलले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी संविधानले दिएको मौलिक अधिकारका रूपमा रहेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दछ, विधिको शासनको सम्मान गर्दछ, मानवअधिकारको सम्मान गर्दछ ।’
खरेलले प्रेस स्वतन्त्रताका सन्दर्भमा आफ्नो पार्टीले कसैसँग पनि सम्झौता नगर्ने बताएका छन् । उनले सञ्चारकर्मीमाथि जुनसुकै ठाउँबाट र जुनसुकै तरिकाले गरिएको व्यवहार गलत भएको पार्टीको धारणा रहेको स्पष्ट पारे ।
यसैगरी, चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाको एक प्रतिनिधिमण्डल छिट्टै चीन भ्रमणमा जाने भएको उनले जानकारी दिए ।
खरेलका अनुसार पार्टीका सहमहामन्त्री विपिन आचार्यको नेतृत्वमा केही सदस्यहरू सम्मिलित प्रतिनिधिमण्डलले चीन भ्रमण गर्ने तय भएको छ ।


















Discussion about this post