सिरहा । सिरहाको गोलबजार नगरपालिका–७ मा प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. ४ ले वडा नं. १ लाई १–० गोलले पराजित गर्दै विजयी सुरुवात गरेको छ।
मैनावती खोला खेल मैदानमा भएको प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा वडा नं. ४ का खेलाडी श्रवण मण्डलले गरेको निर्णायक गोलसँगै टोलीले जित सुनिश्चित गरेको हो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं. ४ का शत्रुधन मुखिया ‘म्यान अफ द म्याच’ घोषित भए। उनलाई गोलबजार नगरपालिका–७ का वडाध्यक्ष हरिशरण ठाकुरले पुरस्कार प्रदान गरेका थिए।
गोलबजार नगरपालिका–७ का वडाध्यक्ष हरिशरण ठाकुरको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको उद्घाटन समारोहमा पूर्वकानुनमन्त्री लीलानाथ श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुमार सिंह, गोलबजार नगरपालिकाका नगरप्रमुख श्यामकुमार श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा समाजसेवी रामचन्द्र महतो, जिल्ला समन्वय समिति सिरहाका उपसभापति दिलीप लामा, विभिन्न वडाका
वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी तथा खेलप्रेमीहरूको उपस्थिति रहेको थियो।
स्थानीय स्तरमा खेलकुदको विकास, युवालाई खेलप्रति आकर्षित गर्ने तथा प्रतिभाशाली
खेलाडीलाई अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको खेल संयोजक आरडी यादवले जानकारी दिए। गोलबजार नगरपालिकाका १३ वडामध्ये १० वडाका टोली प्रतियोगितामा सहभागी भएका छन्।
आयोजकका अनुसार प्रतियोगिताअन्तर्गत सोमबार गोलबजार नगरपालिका वडा नं. ९ र वडा नं. २ बीच खेल हुनेछ।


















Discussion about this post