सिरहा साउन १७ सिरहा शास्त्रीय संगीतकार गुरु गुरुदेव कामतको बिहीबार बिहान निधन भएको छ । लामो समयदेखि मिर्गौला रोगबाट पीडित शास्त्रीय संगीतका गुरु कामतको ६९ वर्षको उमेरमा सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका २ पोखरभिण्डास्थित आफ्नै निवासमा बिहान करिब साढे ७ बजे निधन भएको हो ।
शास्त्रीय संगीतमा निकै श्रद्धाका साथ लिइने नाम कामत उपचारका लागि आर्थिक संकट भएपछि गत २९ असारमा जन्मथलो गाउँ फर्किएको आफन्त महेश कामतले जानकारी दिए । ‘काठमाडौंमा उपचार खर्च धान्ने अवस्था नभएपछि गाउँ ल्याएका थियौं’ उनले भने ‘मुलुकका लागि जीवन समर्पित गरेका व्यक्तिले उपचार खर्च धान्न नसकेर गाउँ फर्किनु दुर्भाग्यपूर्ण हो ।’
पछिल्लो ४० वर्षदेखि निरन्तर नेपाली गीत, संगीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आएका कामतले काठमाडौं डिल्लीबजारमा गुरुकुल संगीत पाठशाला संचालन गर्दै आएका थिए । तीन छोरा, एक छोरी र श्रीमती रहेका कामतको बिहीबार दिउँसो २ बजेतिर स्थानीय सरस्वती खोलमा दाहसंस्कार गरिने जनाइएकाे छ ।
उनका अनुसार मुलुक बाहिर रहेका कामतका जेठो छोरा दिउँसो गाउँ आएपछि दाहसंस्कार गर्न लागिएको हो । १७ साउन २०१२ मा पोखरभिण्डा जन्मिएका कामत चार दाजुभाइमध्ये माहिलो रहेको जनाइएको छ ।
Discussion about this post