राजीनामा नदिई फर्किए बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरू

Picture of हरियो पाटी

हरियो पाटी

523
SHARES
716
VIEWS

राजीनामा दिन बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरू त्यसै फर्केका छन्।रास्वपाका मन्त्रीहरूसहित प्रमुख सचेतक सन्तोष परियारलगायत बिहीबार बिहान बालुवाटार पुगेका थिए।उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल पनि गरेका छन्।प्रधानमन्त्री दाहालले आफूले विश्वास मत लिने तयारी गरेको बताएका छन्। रास्वपाका मन्त्रीहरूले प्रधानमन्त्री दाहाललाई संसदबाट छिटो विश्वास मत लिन आग्रह गर्दै त्यो बेलासम्म आफूहरूले साथ दिने बताएका छन्।

‘रास्वपाका तर्फबाट सरकारमा भाग लिएका मन्त्रीहरूको राजीनामा दिन भनेर आज बालुवाटार आएका थियौं। प्रधानमन्त्रीले अलिकति छलफल गर्नुपर्‍यो भन्नुभयो, पछिल्लो परिस्थितिको समग्र विश्लेषण भयो,’ बालुवाटारमा  पत्रकारहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले भने, ‘प्रधानमन्त्रीले संवैधानिक अधिकार प्रयोग गर्छु, संसदलाई फेस गर्छु भन्नुभएको छ। संसदलाई फेस गरिरहँदा तपाईंहरूले मलाई साथ दिनुपर्छ भनेर प्रधानमन्त्रीले भन्नुभयो।’रास्वपाले प्रधानमन्त्री दाहाललाई छिटो विश्वास मत लिन आग्रह गरेको छ।

‘हामी अर्को गठबन्धन र सरकारमा जाँदैनौं, हामीले प्रधानमन्त्रीलाई जतिसक्दो छिटो संसदलाई फेस गर्नुहोला भनेका छौं,’ उनले भने, ‘हामीले राम्रो गर्दागर्दै अहिलेको राजनीतिक परिस्थिति भयो। अर्को गठबन्धन विश्वास गर्न लायक छैन। हामी राजीनामा दिने मनस्थितिमै हो तर प्रधानमन्त्रीले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्छु भन्दा सकारात्मक रूपमा लिनुपर्छ। विश्वास मत लिने बेलासम्म हामी तपाईंलाई साथ दिन्छौं भनेका छौं।’

दाहाल नेतृत्वको संघीय सरकारमा रास्वपाबाट सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री छन्। उपसभापति डोलप्रसाद अर्याल श्रममन्त्री, सांसद सुमना श्रेष्ठ शिक्षामन्त्री र विराजभक्त श्रेष्ठ खेलकुद मन्त्री छन्।

यसअघि बुधबार साँझ प्रधानमन्त्रीलाई भेटेर नेकपा (एमाले) का मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिएका थिए। साथै एमालेले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन पनि फिर्ता लिएको छ। दाहाल नेतृत्वको सरकार अल्पमतमा परेको छ।

असार १७ गते नेपाली कांग्रेस र एमालेबीच नयाँ समीकरण बनाउने सहमति भएको थियो। उक्त सहमतिअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली अब प्रधानमन्त्री हुनेछन्।

कांग्रेस र एमालेले प्रधानमन्त्री दाहाललाई मार्गप्रशस्त गर्न आग्रह गर्दै आएका छन् भने प्रधानमन्त्री दाहालको दल नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्रीले संसदबाट विश्वास मत लिने बताइरहेको छ।

प्रधानमन्त्री दाहालले अबको एक महिनाभित्र संसदबाट विश्वास मत लिनुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित