भारतीय लोकसभा निर्वाचन : भाजपाको लोकप्रियता घट्यो, गुम्यो एकल बहुमत

Picture of हरियो पाटी

हरियो पाटी

525
SHARES
719
VIEWS

काठमाडौँ । भारतीय लोकसभा निर्वाचन–२०२४ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।  कुल ५४३ सिटमा भएको निर्वाचनमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)को लोकप्रियता घटेको देखिएको छ ।

२०१९ मा सम्पन्न निर्वाचनमा ३०३ सिट जितेको भाजपाले हाल केवल २४० सिटमा मात्र विजयी भयो । पार्टीले गएको चुनावको तुलनामा ६३ सिट गुमाएको हो । बहुमत गुमाए पनि भाजपा पहिलो दल बन्न भने सफल भएको छ । साथै भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडिएलाई भने बहुमत प्राप्त भएको छ। यो गठबन्धनले २ सय ९२ सिट जितेको भारतको निर्वाचन आयोगले जनाएको छ। गठबन्धन कायमै रहेमा मोदी तेस्रो पटक प्रधानमन्त्री बन्ने देखिन्छ ।

यता प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस (आईएनसी)ले ९९ सिटमा जित हात पारेको छ । उसले गएको चुनावको तुलनामा ४७ सिट बढी पाएको हो । २०१९ मा भएको निर्वाचनमा यो पार्टीले केवल ५२ सिटमा विजयी भएको थियो ।

Nabil bank

कांग्रेसकै नेतृत्वमा गठित विपक्षी भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया)ले दुई सय २४ सिटमा जित हासिल गरेको छ।  यो गठबन्धनको बलमा सत्ता गठबन्धनका केही दललाई आफूतिर तानेर सरकार गठन गर्ने गृहकार्यमा कांग्रेस पार्टी लागेको छ ।

यसैगरी समाजवादी पार्टीले ३७ सिट, अल इन्डिया तृणमुल कांग्रेसले २९, द्रविड मुन्नेत्र कजगमले २२ सिट तथा तेलुगु देसामले १६ र जनता दल (एकीकृत)ले १२ सिट जितेको छ ।

छ हप्ताको अवधिमा सात चरणमा सम्पन्न लोकसभा निर्वाचनमा करिब ६४ करोड २० लाख जनताले मतदान गरेका थिए।

प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक वनारसबाट चुनाव जिते। कांग्रेस नेता राहुल गान्धीले राय–बरेली र वायनाडमा जित निकालेका छन् ।

मतपरिणामपछि प्रतिक्रिया दिँदै प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपा नेतृत्वको एनडीएले लगातार तेस्रो सरकार बनाउने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित