मलेसियामा तीन महिनादेखि २० नेपाली अलपत्र,

हरियो पाटी

हरियो पाटी

517
SHARES
708
VIEWS

काठमाण्डौ – काभ्रेको बनेपाका सञ्जीव विकलाई मलेसिया जाने बेलामा म्यानपावर भनेको थियो –‘तलब त तीन हजार ३५ सय रिंगिट हुन्छ, मलेसिया पुगेपछि तिमीहरूलाई हामीलाई बिर्सन्छौ ।’

तर मलेसिया पुगेको तीन महिना पुग्न लाग्दा पनि हातमा एक रिंगिट पनि परेको छैन । सञ्जीव भन्नुहुन्छ ‘पैसा कमाएर बिर्सने हैन, कामै नपाएर दिनरात सम्झिरहन परेको छ म्यानपावरलाई ।’

गएको मार्च १३ तारिखका दिनका कार्गो ह्यान्डलिङ लेबरका रूपमा मलेसिया पुग्नुभएका सञ्जीवसहित २० जना नेपालीहरू कम्पनीमा भरपर्दो काम र तलब नपाएपछि अलपत्र परेका छन् ।

सञ्जीवका अनुसार उहाँसहित साथीहरू काठमाण्डौको बसुन्धारामा रहेको क्रियटिभ प्लेसमेन्ट सर्भिसेज प्रालिलाई तीनदेखि चार लाख रुपैयाँ बुझाएर मलेसिया जानुभएको हो ।

जाने बेलामा म्यानपावरले तीन हजार देखि ३५ सय रिंगिटसम्म महिनाको कमाइ हुने बताएको थियो ।

‘ओभर टाइम हुन्छ, राम्रो काम गर्‍यो भने टिप्स हुन्छ भाइहरू काम र कमाइको तिमीहरूले चिन्तै गर्न पर्दैन भनेको थियो’ म्यानपावरको भनाई सम्झँदै सञ्जीव भन्नुहुन्छ ‘यहाँ यस्तो ठाउँमा सप्लाई कम्पनीमा पारिदियो कि म्यानपावर सम्झँदा त मनमा रिसको आगो बल्छ ।’

म्यानपावरले ३५ सय मलेसियन  रिंगिट तलब हुने भनेर उहाँहरूलाई प्रलोभन देखाए पनि मलेसियाको सुन लजिस्टिक सर्भिस एसडिएन बिएसडी मलेसिया कम्पनीसँग गरिएको करार सम्झौता पत्रमा १५ सय मलेसियन रिंगिट न्यूनतम पारिश्रमिक उल्लेख गरिएको छ । करार पत्रमा ओभर टाइम पाउने कुरा उल्लेख गरिएको छैन ।

र, मलेसिया पुगेका दिनदेखि आजसम्म सञ्जीव र उहाँका साथीहरूले तलबका रूपमा एक रिंगिट पनि पाउनुभएको छैन ।

यसरी समस्या भोग्नेमा अछामका भरत विक, सोलुखुम्बुका निमा लामा, सप्तरीका अशेश्वर रामहरीजन, बिरगंजका शिवराज प्रसाद कुर्मी, खोटाङका शङ्कर श्रेष्ठ, कञ्चनपुरका प्रमोद राना, सर्लाहीका कासिंङ मकिश्वर, धनुषाका केशव कुमार भट्टराई हुनुहुन्छ ।

यस्तै उदयपुरका सुमन बान्तवा राई, सोलुखुम्बुका बिशाल बस्नेत, काभ्रे बनेपाका सुनिल चोलाङ्गे, सर्लाहीका श्यामबाबु महत्तो, गुल्मीका याम बुढाथोकी, दाङका विक्रम चौधरी, हनबहादुर चौधरी र रामप्रसाद चौधरी, रामेछापका विजय बस्नेत, पर्वतका भद्र बहादुर थापा र पाल्पाका कमल थापा मगर हुनुहुन्छ ।

एउटै कोठामा २० जना बसिरहेका छौँ 

कार्गो ह्याण्डलिङको काममा जानुभएका उहाँहरू सबैले अहिलेसम्म जम्मा तीन पटक काम गर्न पाउनुभएको छ ।

समुद्रमार्फत आएका कन्टेनरको सामानहरू उचाल्ने, कन्टेनरको लक खोल्ने लगायत काम गर्नुपर्छ । यो काम महिनामा २६५ घण्टा गरेमा मात्र तलब पाउने कम्पनीले बताएको छ । तर कम्पनीले काम नै दिँदैनन् । सबै जना कोठामा नै बस्न परेको उहाँहरू बताउनुहुन्छ ।

कोठामा बस्न पनि सजिलो छैन । एउटा हलजस्तो कोठा छ । २० जना नै एउटै कोठामा बस्नुहुन्छ । एउटा सिरानी र सुत्ने एउटा म्याट दिइएको छ । कोठामा झ्याल छैन । सबै जना एउटै कोठामा बस्दा गुम्म हुन्छ र सास फेर्नै गाह्रो भएजस्तो हुन्छ भन्नुहुन्छ सञ्जीव ।

कोठामा ग्यासको व्यवस्था छैन । २० जनाका लागि एउटा राइस कुकर दिइएको छ ।

‘राइस कुकरमा नै दालभात तरकारी जे जति हो सबै पकाउनपर्छ’ गुनासो गर्दै उहाँहरू भन्नुहुन्छ ‘कोठामा पानी पनि छैन, पानी किनेर खान पनि पैसा नै हुँदैन ।’

२० जनाले एउटै कोठामा पकाएर खान र बस्न निकै कष्टकर भएको छ ।

कम्पनीले तलब दिने मिति सधैँ सार्छ

कम्पनीसँग आफूहरूलाई काम र तलब दिन दिनहुँ अनुरोध गर्नुहुन्छ । तर कम्पनीले आज आज भोलि भोलि भन्दै मिति सार्छ ।

‘यो हप्ताको मङ्गलवार तलब दिन्छु भनेको थियो, तर मङ्गलवार आएपछि अब शुक्रवारलाई मिति सारेको छ’ उहाँहरू एकसाथ भन्नुहुन्छ ।

उज्यालोसँग ह्वाट्सएपमा कुरा गर्दै सञ्जीव भन्नुहुन्छ ‘कम्पनीमा काम गर्ने श्रमिकहरू सयौँ छौँ, काम गर्ने पालो सबैको आउँदैन, तलब पनि दिँदैन, खानलाई हप्तामा सय रिंगिट दिन्छ त्यसले के पुग्छ र ।’

म्यानपावरले उहाँहरूलाई गराएको करारमा १५ सय मलेसियन रिंगिट तलब, बस्ने व्यवस्था कम्पनीले र खाने व्यवस्था आफैँले गर्ने, दैनिक आठ घण्टा काम हप्तामा ६ दिन गर्नु पर्ने, परीक्षणकालको अवधि ६ महिनाको हुने र दुई वर्षपछि करार अवधि नवीकरण गर्न सकिने उल्लेख गरिएको छ ।

हामी नेपाल फर्कन्न चाहन्छौँ

जाने बेलामा सबै जनाले क्रियटिभ प्लेसमेन्ट सर्भिसेज प्रालि म्यानपावरलाई तीन लाख देखि साढे चार लाख रुपैयाँसम्म बुझाएको उहाँहरूको दाबी छ । तर म्यानपावर कम्पनीमै गएर हातमा पैसा बुझाएकाले पैसा दिएको प्रमाण भने आफूसँग नभएको उहाँहरूले बताउनुभयो ।

साहुको ऋण गरेर आए पनि कामै गर्न नपाएपछि आफूहरू नेपाल फर्कन्न चाहेको तर म्यानपावर र कम्पनी दुवैले यसबारे चासो नदिएको उहाँहरू गुनासो गर्नुहुन्छ ।

‘म्यानपावरसँग कुरा गर्दा हुन्छ हामी सबै मिलाउँछौँ भन्छ, घरका मान्छे म्यानपावरको कार्यालयमा जाँदा पनि तपाईँहरूको मान्छे हामी ल्याउँछौँ भन्छ’ उज्यालोसँग कुराकानी गर्दै सञ्जीवले भन्नुभयो ‘तर कुनै काम कसैले गरिदिएका छैनन्, यसरी कहिलेसम्म बस्ने होला ।’

मलेसियामा रहेको नेपाली दूतावासमा पनि उहाँहरूले आफ्नो समस्या राख्नुभएको थियो । तर दूतावासका एक कर्मचारीले ह्वाट्एपमा राहदानी लगायतका विवरण पठाउन भनेको र विवरण पठाइसकेपछि ब्लक गरेको सञ्जीवको गुनासो छ ।

उहाँहरू अहिले मलेसियाको केलाङमा हुनुहुन्छ । कम्पनीले नै अहिले कोठामा राखेको छ । खाना जसोतसो खाइरहनुभएको छ । कम्पनीमा कामै नपाएपछि घर फर्कन्न चाहनुहुन्छ । तर उहाँहरू सबैलाई घर फर्कन के गर्नुपर्छ भन्नेबारे जानकारी छैन । म्यानपावरले फर्कांउछु भने पनि स्वदेश फर्काउला भनेर म्यानपावरको विश्वास गर्न सक्नुभएको छैन ।

निराश हुँदै सञ्जीव भन्नुहुन्छ ‘पहिलो पटक विदेश आएको, यस्तो हुन्छ, ठग्छन् भन्ने थाहै भएन ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित