सिरहा, १४ बैशाख।
सिरहा सामान्य वर्षामै सिरहा नगरपालिकाका अधिकान्स क्षेत्र जलमग्न भएको छ । खासगरी २ अन्तर्गत लक्ष्मी चोक क्षेत्र जलमग्न हुँदा स्थानीयको दैनिकी प्रभावित भएको छ। चोहर्वा–सिरहा सडकखण्डअन्तर्गत पर्ने उक्त क्षेत्रमा हिजो रातिदेखि आज बिहानसम्म परेको वर्षाका कारण सडकमै पानी जमेको थियो।
सो वर्षाका कारण लक्ष्मी चोक अगाडि माडर जाने बाटोमा पानी जमेर केही समय सवारी आवागमन नै अवरुद्ध बनेको थियो। पानीको निकास नभएपछि स्थानीयवासीले आफैं कोदालो प्रयोग गरी अस्थायी रूपमा नाला जस्तो बनाएर पानी निकास गरेका थिए।
स्थानीय राजकिशोर साह बनियाँका अनुसार नाला निर्माण हुँदा पानी निकास सहज हुने अपेक्षा गरिएको थियो। ‘पहिलेभन्दा झन् समस्या बढेको छ, सामान्य वर्षामै घर अगाडि पानी जम्छ, बाहिर निस्किनै गाह्रो हुन्छ,’ उनले भने। उनका अनुसार यसले विद्यार्थीलाई विद्यालय जान समेत कठिन बनाएको छ।
त्यस्तै, अर्का स्थानीय ललित साहले सडकमै पानी जम्दा दैनिक जीवन निकै कष्टकर बनेको बताए। उचित निकासको अभावमा पानी सडकमै थुप्रिन्छ, मजदुर, व्यापारी र विद्यार्थी सबै प्रभावित भएका छन् उनले भने।
धेरै स्थानमा सडक नै नदेखिने गरी पानी जम्दा केहीबेरसम्म सवारी आवागमनसमेत अवरुद्ध भएको उनको भनाइ छ।
वडा नं. २ का अध्यक्ष राकेश यादवले समस्या समाधानका लागि पटक-पटक निर्माण व्यवसायी र सडक डिभिजन कार्यालय लहानलाई जानकारी गराउँदा पनि बेवास्ता गरिएको गुनासो गरे । जनताले गुनासो गर्छन्, तर सम्बन्धित निकायले ध्यान दिँदैनन् उनले भने।
यता, सडक डिभिजन कार्यालय लहानका इन्जिनियर अस्विन यादवले नालाको उचाइ बढी र सडकको उचाइ कम भएकाले पानी नालामा जान नसकी सडकमै जम्ने समस्या देखिएको हो । स्थानीयको गुनासोपछि सडक स्तरोन्नतिका लागि पहल भइरहेको उनले बताए। उनले भने तत्कालका लागि नालामा सामान्य अवरोध हटाएर पानी निकास गर्न स्थानीयलाई आग्रह गरिएको छ।
आर्थिक वर्ष ०८१८२ मा सडक डिभिजन कार्यालय लहानले करिब ८ करोड रुपैयाँको ठेक्का आह्वान गरेको थियो। जसअन्तर्गत पहिलो चरणमा भगवत ग्रुप कन्स्ट्रक्सन काठमाडौंले ६ करोड रुपैयाँमा १,१०० मिटर नाला निर्माणको ठेक्का पाएको थियो भने दोस्रो चरणमा बोहदर माई एबी–वीरगञ्जले २ करोड रुपैयाँमा ५०० मिटर नाला निर्माणको जिम्मा पाएको थियो। दुवै निर्माण कम्पनीले काम सम्पन्न गरी भुक्तानी समेत लिइसकेको इन्जिनियर यादवले जानकारी दिए।
तर, करोडौं रुपैयाँ खर्चिएर बनेको संरचनाले राहत दिनुको सट्टा थप समस्या निम्त्याएपछि स्थानीयवासी आक्रोशित बनेका छन्। उनीहरूले दीर्घकालीन समाधानसहित तत्काल सुधारका लागि सम्बन्धित निकायसँग माग गरेका छन् ।


















Discussion about this post