फागुन १८ सिरहा – स्त्री र पुरुषका बीचमा पतिपत्नीको सम्बन्ध कायम गराउने धार्मिक, सामाजिक कार्यलाई विवाह भनिन्छ । चलनचल्तीमा कतै कतै बिहे गर्ने भन्ने चलन पनि छ । विवाह गर्न उपयुक्त भनि तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ । नेपालमा कानुनतः विवाह गर्ने उमेर २० बर्ष छ । त्यसैले २० वर्ष भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ ।
शारीरिक र मानसिकरुपमा परिपक्व नभई विवाह गर्नु र सन्तान जन्माउँदा विविध समस्या आउन सक्ने भएकोले विवाहका लागि उमेरको हदबन्दी तोकिएको बुझिन्छ ।बालविवाहको समस्या नेपालको तराई मधेस क्षेत्रमा बढी छ । शिक्षित समुदायमा भन्दा चेतना स्तर कम भएका, आर्थिक सामाजिक रुपमा पछि परेका मुसहर, चमार, डोम, मुस्लिम जस्ता समुदायमा बढी पाइन्छ । यादव लगायत अन्य समुदायमा पनि धेर थोर समस्या छ । त्यसो त नेपाल विश्वमा बालविवाह बढी हुने देश मध्ये दशौँ स्थानमा पर्दछ । दक्षिण एसियाली मुलुक मध्ये नेपालको बालविवाह र प्रजनन स्वास्थ्यका कारण मातृ मृत्युदर बढी छ ।
युनिसेफले सन २०१५ मा गरेको सर्वेक्षण अनुसार सप्तरी बालविवाह बढी हुने जिल्लाहरूमा पहिलो स्थानमा पर्दछ । नेपालमा हुने वाषिर्क बालविवाहको ८३ प्रतिशत सप्तरी जिल्लामा हुने गर्छ । राष्ट्रिय समस्याको रुपमा रहेको बाल विवाह प्रदेश नं २ मा अझ जटिल समस्याको रुपमा छ ।
किन हुन्छ बाल विवाह ?
१. अभिभावकहरूले घरमा काम गर्ने मान्छेको संख्या बढाउन छोराको कमै उमेरमा गर्ने गरेको पाइन्छ ।
२. कम उमेरमा विवाह गर्दा पुण्य प्राप्ती हुन्छ भन्ने परम्परागत विश्वास तथा दाईजो, छोरीको उमेर बढ्दै जाँदा दाइजोको रकम बढ्दै जान्छ । छोरीको कम उमेरमा विवाह गर्नुको मुख्य कारण मध्ये दाइजो पनि पर्छ ।
३. गरिबी र विभेदका कारणले छोरीको बाल विवाह भएको देखिन्छ ।
४. अभिभावकमा शिक्षा तथा चेतनाको कमी, यौन तथा प्रजनन स्वास्थ्यको बारेमा जानकारी नहुँनु ।
समुदायका मानिसहरूले सामाजिक मूल्य, इज्जतका कारण वालविवाहबिरुद्ध बोल्नसकेका छैनन् , बाल विवाहबिरुद्धका उजुरीहरू दर्ता भएका छैनन् । खराब राजनीतिक अबस्थाका कारण बाल विवाह बिरुद्धका अभियान प्रभावकारी हुन सकेको छैन ।
बाल विवाहले निम्त्याउने समस्या
बाल विवाहले निम्त्याउने समस्याको बारेमा धेरै अभिभावकलाई जानकारी छैन । केही गैरसरकारी संघ संस्थाले धेरथोर चेतनामूलक कार्यक्रम गरेको पाइन्छ । तर, अब यसमा तीन तहको सरकार यसमा जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्छ ।
वाल विवाहले निम्त्याउने समस्या यस्ता छन्-
१. शारीरिक तथा मानसिक रोगको शिकार हुने स
२.बालविवाहपछि स्वास्थ्य र शिक्षाको अधिकारसमेत गुमाउँछन् ।
३.घरमा विभेद र घरेलु हिंसा सहन बाध्य हुने, कामको बोझ बोक्नुपर्ने
४. कमै उमेरमा सन्तान जन्माउँदा आमा शिशुको मृत्यु हुने जोखिम उच्च हुन्छ । अपांगता भएका सन्तान जन्मन सक्छन् ।
५. विवाहपछि बालवालिकाको पढाइ बिग्रन्छ, बिरामी हुने, छिटो विवाह गर्दा छिटो बच्चा जन्मने,
बालबालिकाको मानसिक शक्तिको विकास हुनबाट वञ्चित हुन्छ ।
६. गर्भा अवस्था तथा सुत्केरी हुँदा घरपरिवारबाट सहयोगी ब्यबहार नहुने, शारीरिक तथा मानसिक विकास हुन पाउँदैन ।
७. व्यवहारिक कुरा बुझ्न नपाउँदै जीवन बर्बाद हुन सक्ने, यौनांगलाई हानी हुनसक्ने र परिवार चलाउन गार्हो हुने ।
समाधानका उपायहरू
बाल विवाह, बालअधिकार, महिला अधिकार, मानव अधिकारको हनन मात्रै होइन, विकास र समृद्धिको बाधक हो । तसर्थ यसको उन्मुलन गर्नुपर्ने हुन्छ । मुलुक संघीयतामा गइसकेको अवस्थामा अब समाजबाट यस्ता कुप्रथाहरु सदाका लागि हटाउनुपर्छ । स्थानीय, प्रदेश र संघ सरकारले चाहेमा यो संभव छ । अन्य सरोकारवालाले पनि यसमा हातेमालो गर्नुपर्छ । यसका लागि-
१.बाल विवाहको उन्मूलन गर्न विशेष गरी छोरीहरुको सशक्तीकरण गर्नुपर्ने हुन्छ ।
२. बाल विवाह पुराना परम्परागत संस्कृति र जातीय व्यवस्थासँग जोडिएको विषय हो, सर्वप्रथम त्यस्ता कुसंस्कार
र जातीय व्यवस्थालाई बदल्नुपर्छ ।
३. समुदायसँग नजिक स्थानीय सरकार रहन्छ, उसले बाल विवाह विरुद्ध अभियान सञ्चालन गर्नुपर्छ । बाल विवाह गर्ने, गराउनेलाई सामाजिक बहिस्कार गर्न सक्नुपर्छ ।
४. बाल विवाह र दाइजोको समस्या बढी भएको समुदायका मानिसले बिना दाइजो उमेर पुगेर विवाह गर्दा सम्मान गर्नुपर्छ । बाल विवाह एवं दाइजोमुक्त नेपाल राष्ट्रिय अभियानले यस्ता कार्य गर्दै आइरहेको छ ।
बाल विवाह गैरकानुनी हो, यसबाट बालबालिकाले शारीरिक, मानसिक र शैक्षिक विकासको अवसर र रहर सबै गुमाउनुपर्छ भन्ने जान्दा जान्दै पनि यस्तो गलत परिपाटीका विरुद्ध संगठित आवाज उठ्न सकेको छैन । तसर्थ राज्यले कानुनमा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न कञ्जुस्याइँ गर्नुहुन्न ।
Discussion about this post