काठमाडौं – महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका पूर्वमन्त्री बद्री न्यौपाने भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरु शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले आम जनता पार्टीका नेतासमेत रहेका पूर्वमन्त्री न्यौपानेसहित ९ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।उनीसहित मनाङबाट प्रतिनिधिसभामा निर्वाचित भएका कांग्रेस सांसद एवं पूर्वमन्त्री टेकबहादुर गुरुङ, समाज कल्याण परिषद्का तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, तत्कालीन कोषाध्यक्ष कुञ्जबिहारीप्रसाद चौधरी, तत्कालीन सदस्य सचिव रवीन्द्रकुमार यादव, तत्कालीन सदस्य मोहनराज शर्मा, मदनकुमार लाल कर्ण र फनपार्क प्रमुख सञ्चालक रवीन्द्र गुरुङ दोषी ठहर भएको विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले जानकारी दिए ।मेला सञ्चालक रहेका गुरुङ र पूर्वमन्त्री न्यौपानेमाथि जनही ३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ बिगो मागदावी थियो ।उनीहरुमाथि भृकुटीमण्डपस्थित फनपार्क सञ्चालन गर्न सस्तो भाडामा दिएर भ्रष्टाचार गरेको अभियोगमा अदालतले दोषी ठहर गरेको हो । दोषी ठहर गरिएका व्यक्तिहरुमाथि फागुन २५ गते सजाय तोकिने प्रवक्ता योगीले बताए । साभार कान्तिपुर
Discussion about this post