सिरहा, २६ असोज। आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुँदै आएका गरिब, विपन्न तथा दलित समुदायका नागरिकलाई लक्षित गरी सिरहाको गोलबजार नगरपालिका–२ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। शिविरबाट एकसय ९० जनाले स्वास्थ्य सेवा लिएका छन्।
गोलबजार नगरपालिका–२ को आयोजनामा तथा नगरपालिकाको स्वास्थ्य शाखाको समन्वयमा सञ्चालित शिविरमा स्त्री तथा प्रसूति रोग, हाडजोर्नी, फिजियोथेरापी र जनरल मेडिसिनलगायतका सेवा प्रदान गरिएको थियो।
बिरामीलाई स्वास्थ्य परीक्षण, परामर्श तथा निःशुल्क औषधिसमेत वितरण गरिएको आयोजकले जनाएको छ।
शिविरमा हाडजोर्नी विशेषज्ञ डा. विनोद सिंह, डा. आनन्द साहलगायतका स्वास्थ्यकर्मीले सेवा दिएका थिए। ढाड, कम्मर, घाँटी, छाती तथा खुट्टा दुख्ने समस्याबाट पीडित बिरामीसहित बालबालिका र विभिन्न उमेर समूहका नागरिकले सेवा लिएका थिए।
आर्थिक अभावका कारण लामो समयदेखि उपचार गराउन नसकेका स्थानीयले शिविरबाट राहत मिलेको बताएका छन्। स्थानीय पवन सदायले तीन–चार वर्षदेखि ढाड, कम्मर, घाँटी र खुट्टा दुख्ने समस्याबाट पीडित भए पनि आर्थिक अवस्थाका कारण उपचार गराउन नसकेको बताइन्। निजी अस्पतालमा उपचार महँगो पर्ने भएकाले आफूजस्ता विपन्न नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर उपयोगी भएको उनको भनाइ छ।
त्यस्तै, कर्जन्हा नगरपालिकाकी फूलकुमारी सदायले पनि आर्थिक अभावका कारण उपचार गर्न नसकिरहेको अवस्थामा शिविरबाट स्वास्थ्य परीक्षण र औषधि पाउँदा राहत मिलेको बताइन्। यस्ता शिविर नियमित रूपमा सञ्चालन गर्न सके गरिब परिवारलाई ठूलो सहयोग पुग्ने उनले बताइन्।
अर्की स्थानीय जितनी पासमानले तीन वर्षदेखि छाती र खुट्टा दुख्ने समस्याको उपचार गराउन नसकेको सुनाइन्। आर्थिक अवस्था कमजोर भएकाले उपचारका लागि खर्च जुटाउन नसकेको बताउँदै उनले निःशुल्क स्वास्थ्य सेवा पाउँदा राहत महसुस गरेको उल्लेख गरिन्।
स्वास्थ्यकर्मी ध्रुव पासवानका अनुसार शिविरमा विभिन्न स्वास्थ्य समस्या भएका बिरामीको परीक्षण गरी आवश्यक परामर्श र औषधि उपलब्ध गराइएको थियो।
गोलबजार नगरपालिका–२ का वडाध्यक्ष सुकदेव सिंहले गरिब, अति विपन्न तथा दलित परिवारलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको बताए। जनताबाट प्राप्त स्रोत जनताकै हितमा खर्च गर्ने सोचअनुसार वडा कार्यालयले प्रत्येक वर्ष स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको उनले जानकारी दिए।
आर्थिक अभावका कारण सामान्य स्वास्थ्य परीक्षणसमेत गराउन नसक्ने नागरिकका लागि स्थानीयस्तरमा सञ्चालन हुने यस्ता शिविरले उपचारमा पहुँच बढाउनुका साथै स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्न सहयोग पुगेको वडा अध्यक्ष महतोले बताए ।


















Discussion about this post