सिरहा, मङ्सिर ९। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सिरहामा विभिन्न सचेतनामूलक कार्यक्रम, र्याली तथा कोणसभासहित बुधबारदेखि सुरु भएको छ।
यस वर्ष स्थानीय तथा प्रदेश सरकारले सामाजिक संघसंस्थासँग सहकार्य गर्दै अभियानको नेतृत्व लिएर सञ्चालन गर्नु सकारात्मक परिवर्तनका रूपमा हेरिएको छ।
धनगढीमाई नगरपालिकाको नेतृत्वमा मानवअधिकार संरक्षण केन्द्र सञ्जाल सिरहा, समग्र जनउत्थान केन्द्र, सहारा नेपाललगायत संघसंस्थाको सहकार्यमा अभियान शुभारम्भ गरिएको हो। नगरपालिकाबाट सुरु भएको र्याली नगरका विभिन्न भाग परिक्रमा गर्दै जिरोमाइल चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।
कार्यक्रममा नगरप्रमुख शिवशंकर महतो, उपप्रमुख संगीता चौधरी, प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईं, प्रहरी उपरीक्षक वासुदेव पाठकलगायत जनप्रतिनिधि, सुरक्षाकर्मी, महिला अधिकारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।
कार्यक्रममा वक्ताहरूले लैङ्गिक हिंसा अन्त्यका लागि स्थानीय सरकार, सुरक्षा निकाय, सामाजिक संघसंस्था र समुदायबीच सहकार्य आवश्यक रहेको औँल्याए।
हिंसापीडितलाई न्याय, सुरक्षा र संरक्षणको सुनिश्चितता गर्दै अभियानलाई १६ दिनमा मात्र सीमित नराखी वर्षभरि निरन्तरता दिनुपर्नेमा उनीहरूले जोड दिए।
यसैबीच, गोलबजार नगरपालिकाले पनि मानवअधिकार संरक्षण केन्द्र सञ्जाल सिरहा, महिला मानवअधिकार रक्षक सञ्जाल, मुक्ति नेपाल, समग्र जनउत्थान केन्द्र, सहारा नेपाल, CDWN लगायत संस्थाको सहकार्यमा अभियान सुरु गरेको छ।
नगरपालिकाबाट निकालिएको र्याली बजार परिक्रमा गरी नगरपालिका परिसरमा कोणसभामा परिणत भएको थियो। कार्यक्रममा मुक्ति नेपालको नाटक टोलीले डिजिटल हिंसाविरुद्ध सडक नाटक प्रदर्शन गरेको थियो।
कोणसभामा नगर उपप्रमुख मान्ती कुमारी साहले हिंसापीडितलाई न्यायमा पहुँच दिलाउन न्यायिक समितिमार्फत नगरपालिका संवेदनशील भएर काम गरिरहेको बताउँदै हिंसाविरुद्ध खुलेर आवाज उठाउन आग्रह गर्नुभयो।
त्यस्तै, मधेस प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयले पनि सामाजिक संघसंस्थाको सहकार्यमा जनकपुरधाममा प्रभातफेरी आयोजना गरी अभियान सुरु गरेको छ।
नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने अभियानले लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि, पीडितको न्यायमा पहुँच र हिंसामुक्त समाज निर्माणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।


















Discussion about this post