गोलबजार, सिरहा। सिरहाको गोलबजार नगरपालिकामा CHANGE परियोजनाअन्तर्गत नगरस्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक सम्पन्न भएको छ। मंगलबार नगरपालिकाको सभाहलमा बागमती सेवा समाजद्वारा आयोजित बैठकमा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा विभिन्न वडाका वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो।
बैठकमा नगरपालिकाभित्र पोषणको अवस्था सुधार, खाद्य सुरक्षाको सुनिश्चितता तथा परियोजनाका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा छलफल भएको थियो।
बैठकलाई सम्बोधन गर्दै नगर प्रमुख श्यामकुमार श्रेष्ठले पोषण तथा खाद्य सुरक्षा नागरिकको स्वास्थ्य र समृद्धिसँग प्रत्यक्ष जोडिएको विषय भएको बताए। उनले CHANGE परियोजनाले अघि सारेका उद्देश्य हासिल गर्न नगरपालिकाले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
श्रेष्ठले भने, “नगरपालिकाभित्र पोषण र खाद्य सुरक्षाको अवस्था सुधार गर्नु हाम्रो साझा जिम्मेवारी हो। यस परियोजनालाई सफल बनाउन नगरपालिकाको तर्फबाट गर्नुपर्ने आवश्यक सहयोग, समन्वय र सहकार्य गर्न म प्रतिबद्ध छु।”
त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत रुपनारायण खतिवडाले परियोजनाका कार्यक्रमलाई प्रभावकारी बनाउन योजना निर्माणदेखि कार्यान्वयन र अनुगमनसम्म स्थानीय तहको सक्रिय भूमिका आवश्यक रहेको बताए।
उनले पोषण र खाद्य सुरक्षा कुनै एक क्षेत्रको मात्र विषय नभई स्वास्थ्य, कृषि, शिक्षा तथा सामाजिक विकाससँग जोडिएको बहुआयामिक विषय भएकाले सबै शाखा र सरोकारवाला निकायबीच समन्वय हुनुपर्नेमा जोड दिए।
खतिवडाले परियोजनाबाट प्राप्त हुने अवसर र स्रोतलाई स्थानीय आवश्यकतासँग जोडेर परिणाममुखी कार्यक्रम सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै नगरपालिकाले संस्थागत समन्वय र कार्यान्वयनमा सहजीकरण गर्ने बताए।
बैठकले पोषण तथा खाद्य सुरक्षासम्बन्धी कार्यक्रमलाई स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा अघि बढाउँदै सम्बन्धित निकायबीच सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिएको छ।


















Discussion about this post