रामभरोसि यादव
सिरहा, ५ भदौ । सिरहाको धनगढीमाई नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिकै मिलेमत्तोमा खाने पानी तथा सिंचाई बोरिङ जडानको लागि उपभोक्तासँग रकम असुलेको खुलासा भएको छ। वडा अध्यक्षहरुकै सक्रियतामा उपभोक्तासँग अवैधरुपमा रकम असुल गरेको खुलासा भएको हो ।
धनगढीमाई नगरपालिका ११ का वडा अध्यक्ष अशोक श्रेष्ठले प्रति वोर्डिङ्ग ३० देखि ४० हजारसम्म रुपैयाँ उठाएको उपभोक्ताहरुले बताएको छ। नगरस्तरीय योजनाको यस वडामा गत आर्थिक वर्ष २०८०÷०८१ मा पाँच वटा वोर्डिङ्ग जडान भएको छ ।
धनगढीमाई ११ की उपभोक्ता उषा महतो, समिता मगरसहितका ६ घर परीवारले ७ हजारको दरले रकम उठाएर वडा अध्यक्ष अशोक श्रेष्ठको निर्देशनमा स्थानीय पवन महतोलाई ४० हजार रुपैयाँ बुझाएको बताए । उनीहरुले भने,‘पैसा जम्मा नगरेसम्म बोरिङ्ग नदिने भनेपछि हामीले घरही ७ हजारका दरले उठाएर ४० हजार पवन भाई (महतो) लाई दियौं ।
त्यसमध्ये १० हजार फिर्ता दिने भनेको छ। तर अझै फिर्ता भएको छैन ।’
सोही वडाका सिंङ्गेश्वर ठाकुर र धुर्निदेवि महतोसँग पनि ३०÷३० हजार रुपैयाँ वडा अध्यक्ष अशोक श्रेष्ठले लिएका छन् । वडा अध्यक्ष श्रेष्ठले पैसा नबुझाएसम्म बोरिङ्ग दिन्न भनेपछि बाध्यय भएर रकम बुझाएको सिंङ्गेश्वर ठाकुरले बताए ।
यस वडामामात्र हैन वडा नम्वर ८ का उपभोक्ता उपेन्द्र महतोसँग पनि उनीहरुले रकम असुल गरेको छ । दुई महिना अघि नै वोरिङ्ग जडानको काम सम्पन्न भएको महतोले फिर्ता दिने सर्तमा मिस्त्रीलाई दिएको रकम अझै फिर्ता भएको छैन ।
रकम असुलीमात्र हैन समिति निर्माण पनि अपादर्शी ढङ्गले गठन गरेको छ। अपारदर्शी तथा मनपरी ढङ्गले समिति गठनमात्र हैन यसको सम्पूर्ण काम समेत ठेकेदारमार्फत गराएको छ ।
जनप्रतिनिधी र कर्मचारीले अनियमितता गर्ने उदेश्यले नै योजना टुक्र्याउने, भनेका मान्नेहरुलाई राखेर उपभोक्ता समिति गठन गर्ने र उपभोक्तासँग रकम असुल्ने गरेको छ।
सवैभन्दा बढी ५५ लाखको उपभोक्ता समिति बोरिङ्ग र मोटर जडान ११, १२ र १३ मा लक्ष्मी यादव अध्यक्षले गरेका छन् । समितिका अध्यक्ष यादव वडा कार्यालयका कर्मचारी पनि हुन्। अनियमितता गर्न सजिलो पार्नकै लागि नीयम मिचेर कर्मचारीलाई अध्यक्ष बनाएको स्थानीयको भनाई छ ।
योजनाको सचिवमा सूर्यनारायण महतोको नाम छ। विडम्वना उनलाई आफू उपभोक्ता समितिमा रहेको जानकारी नै छैन।
सचिव महतोलाई तपाई बोरिङ्ग र मोटर जडान उपभाक्ता समितिको सचिव हो? भनि सोध्दा उनले आफू कुनै समितिमा बसेको जानकारी नभएको बताए। उनले भने, ‘म समितिमा बसेको जानकारी छैन, बुझेर थप कुरा भनुला ।
यस सम्वन्धमा बुझ्न ११ नम्वर वडा अध्यक्ष श्रेष्ठलाई सम्पर्क गर्दा उनले आफूले कुनै रकम नलिएको दावी गरे। उनले भने, ‘मैले पछि काम लाग्छ भनेर उठाउन भनेको थिएँ, तर त्यो पैसा मैले लिईन। अरु के भयो थाहा भएन।’
पनव महतोले भने आफू यस प्रकृयामा कतै नजोडिएको जिकिरगरेपनि पछि उनले पाइप लाईन गर्न र पछि धाराहरु जडान गर्न पैसा उठाएको र सो रकम सुरक्षित रहेको बताए।
पैसा उठाएको विषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासले आफूसम्म पनि बेला बेला यस्तो कुरा आएको बताए। उनले भने, ‘म कहाँ पनि यो कुरा आई रहेको थियो। मैले आफैले पनि खोजीनीती गरिरहेको छु। कुनै पनि उपभोक्तासँग रकम लिएको भन्ने पुष्टि भए रकम लिनेलाई कार्वाही गर्छु ।
प्रमुख दासले समयमा काम सम्पन्न नभएकोले यो योजनाहरुको भुक्तानी समेत नभएको बताए। उनले विभिन्न कारणले समयमा काम सम्पन्न हुन सकेन। त्यसैले भुक्तानी बाँकी रहेको जानकारी दिए ।
यहि समाचार लेखेको विषयलाई लिएर धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महताले नेपाल पत्रकार
महासंघ सिरहाका सदस्य तथा सञ्चारकर्मी मुकेश कुमार यादवलाई गाली गलौजगरी आक्रमण गर्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ मधेश प्रदेशको गम्भिर ध्यानाकर्षण भएको छ।
समाचारको विषयमा चित्त नबुझे उपचार खोज्ने विभिन्न विनकायहरु हुँदाहुँदै पनि गालीगलौज गरी धम्की दिई मानसिक पीडा दिएको घटनाप्रति महासंघको ध्यानकर्षण भएको हो।
Discussion about this post