सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। त्यस्तै, भारतीय नम्बर प्लेटको मोटरसाइकलबाट ब्राउनसुगर र प्रतिबन्धित औषधिका ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि इटहरीबाट विराटनगरतर्फ जाने कोशी राजमार्गमा गाँजा बोकेको एम्बुलेन्स गुडिरहेको सूचना प्राप्त भएको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय दुहबी र सीआरभी दुहबीको संयुक्त टोलीले खोजतलास गर्ने क्रममा दुहबी–६ स्थित बूढी खोलाको किनारमा गाँजासहितको एम्बुलेन्स फेला पारेको हो।
नेपाल–भारत सहयोग’ लेखिएको स्टिकर टाँसिएको ना.४ च ६०६३ नम्बरको एम्बुलेन्समा गाँजा भेटिएको प्रहरीले जनाएको छ। एम्बुलेन्सका चालक र गाँजा तस्करीमा संलग्न व्यक्ति भने फरार छन्।
उक्त एम्बुलेन्स कुन संस्थाबाट सञ्चालित थियो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरी स्रोतका अनुसार एम्बुलेन्समा नक्कली नम्बर प्लेट प्रयोग गरिएको वा सामान्य सवारीसाधनलाई एम्बुलेन्सको स्वरूप दिएर प्रहरीलाई छल्ने प्रयास गरिएको हुन सक्ने आशंका छ।
यसैगरी, सोमबार बिहान ९ बजे सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ निवासी अर्सद अन्सारीको घरमा पार्किङ गरिएको भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्दा प्रहरीले ३ ग्राम ६३० मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ।
प्रहरीका अनुसार मोटरसाइकलबाट ७२ ट्याब्लेट स्पाज्मो र ९० ट्याब्लेट नित्जासेसीनसमेत बरामद भएको छ। ब्राउनसुगर र ट्याब्लेट लुकाएर राखिएको अवस्थामा बीआर ३८ एजे ७३१२ नम्बरको मोटरसाइकल फेला परेको प्रहरीले जनाएको छ।
अन्सारीलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरी, इनरुवाको हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


















Discussion about this post