रुसका विपक्षी नेता नभाल्नीको शव उनकी ‘आमालाई नदिइएको’ निकटस्थहरूको आरोप

हरियो पाटी

हरियो पाटी

515
SHARES
705
VIEWS

आर्टिक जेलमा निधन भएका रुसका प्रतिपक्षी नेता एलेक्सी नभाल्नीको शव उनकी आमालाई नदिइएको निकट सहयोगीले बताएका छन्।

किरा यार्मिशले नभाल्नीकी आमा ल्युडमिलालाई पोस्टमोर्टम परीक्षण सकिएपछि मात्रै उनको शव हस्तान्तरण गरिने जानकारी दिइएको बताइन्।

नाभाल्नी पक्षधर समूहले ती भ्रष्टाचारविरोधी अभियानकर्ताको हत्या राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा भएको भन्ने ठानेको छ।

एउटा अधिकारवादी समूहले उनलाई श्रद्धाञ्जली अर्पण गरेको आरोपमा ३०० जनालाई पक्राउ गरिएको बताएको छ।

पश्चिमी देशहरूले ४७ वर्षीय प्रतिपक्षी नेताको अचानक भएको मृत्युका लागि रुसी अधिकारीहरू जिम्मेवार रहेको आरोप लगाएका छन्।

धनी देशहरूको समूहका विदेश मन्त्रीहरूले रुसलाई उक्त घटना हुँदाको परिस्थितिहरूबारे “तत्काल स्पष्ट” पार्न आग्रह गरेका छन्।

पुटिन मौन

गत शुकरवार जेल अधिकारीहरूले नाभाल्नीको मृत्यु भएको घोषणा गरेयता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सार्वजनिक रूपमा त्यसबारे टिप्पणी गरेका छैनन्।

उनको मृत्युलगत्तै क्रेमलिनले त्यसबारे आफूलाई जानकारी रहेको र राष्ट्रपतिलाई पनि सूचित गरिएको बताएको थियो।

रुसी विदेश मन्त्रालयले शनिवार ब्रिटिश अधिकारीहरूसँगको भेटमा उनको मृत्युको कारणबारे गरिएको “पक्षपातपूर्ण र अवास्तविक” कुरालाई अस्वीकार गरेको बताएको छ।

नाभाल्नी रुसमा पुटिनका सबैभन्दा प्रखर विरोधीमध्ये एक थिए। उनीमाथि राजनीतिक रूपमा प्रेरित एउटा अभियोग लगाइएको थियो र तीन दशकको जेल सजाय तोकिएको थियो।

उनलाई मस्कोबाट करिब १,९०० किलोमिटर उत्तरस्थित एउटा जेलमा राखिएको थियो।

नभाल्नीको मृत्यु कसरी भयो?

नभाल्नी

तस्बिर स्रोत,REUTERS

जेल अधिकारीहरूले उनकी आमालाई जेलभित्रै हिँड्ने क्रममा उनी लडको र बेहोस भएको अनि त्यसपछि उनको निधन भएको बताएको उनका सहयोगीहरूले जानकारी दिएका छन्।

उनको निधन भएको जेलमा शनिवार उनकी आमा गएकी थिइन् र त्यहाँ नभाल्नीको मृत्यु स्थानीय समय अनुसार १४:१७ बजे भएको बताइएको यार्मिशले बीबीसीलाई बताइन्।

नभाल्नीका अर्का सहयोगी इभान जाडानोभका अनुसार उनकी आमालाई “सडन डेथ सिन्ड्रोम”का कारण उनको निधन भएको बताइएको थियो। त्यो भनेको एउटा सामान्य खालको र अस्पष्ट अवस्था हो अनि त्यसमा व्यक्तिको समस्या थाह नभएको अवस्थामा हृदयाघातबाट निधन हुन्छ।

नभाल्नीका सहयोगीहरूको टोलीले उनकी आमालाई उनको शव कारागार परिसर नजिकैको सालेखार्द सहरमा लगिएको बताइएको थियो तर उनी त्यहाँ पुग्दा शवगृह बन्द थियो।

कारागारका अधिकारीहरूले उनलाई प्रारम्भिक पोस्टमोर्टम परीक्षणबाट केही पत्ता नलागेकाले दोस्रो परीक्षण गर्नुपर्ने बताएका थिए।

नभाल्नीका सहयोगीहरूले उनको शवलाई रुसी अधिकारीहरूले जानाजान राखेको दाबी गरेका छन्।

उनीहरूले त्यसरी ढिलाइ गरेर सबै प्रमाणहरू नष्ट गर्न खोजिएको बताउँदै शव “तुरुन्तै” उनको परिवारलाई फिर्ता गर्न आह्वान गरेका छन्।

रुसमा कैयौँ पक्राउ

नभाल्नी

तस्बिर स्रोत,EPA

यसैबीच रुसभरि ३०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको स्वतन्त्र रुसी मानव अधिकार अनुगमन समूह ओभीडी-इन्फोले जनाएको छ।

उसका अनुसार राजधानी मस्को र सेन्ट पिटर्सबर्गमा सबैभन्दा धेरै मानिसहरूलाई पक्राउ गरिएको छ यद्यपि त्यस्ता पक्राउहरू कुल ३२ वटा सहरमा भएका छन्।

धेरै देशमा रुसी दूतावास नजिक पनि विरोध प्रदर्शनहरू भएका छन्।

म्युनिख सुरक्षा सम्मेलनमा शनिवार जी-सेभेन देशहरूका विदेश मन्त्रीहरूको बैठकमा नभाल्नीप्रति श्रद्धाञ्जली अर्पण गर्न एक मिनेट मौन धारण गरिएको थियो।

 

अन्तर्राष्ट्रिय रूपमा आलोचना

नभाल्नी

तस्बिर स्रोत,EPA

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले “हिरासतमा भएको भनिएको नभाल्नीको मृत्युको परिस्थितिबारे पूर्ण विश्वसनीय तथा पारदर्शी छानबिन” हुनुपर्ने माग गरेका छन् भने अमेरिकाका राष्ट्रपति जो बाइडनले घटनाका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन जिम्मेवार रहेको बताएका छन्।

यूकेका विदेशमन्त्री डेभिड क्यामरनले जर्मनीमा जारी म्यूनिक सुरक्षा सम्मेलनमा पुटिनले “यसको परिणाम बेहोर्नुपर्ने” बताएका छन्।

नभाल्नी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सबैभन्दा कडा आलोचक थिए। नभाल्नीले राष्ट्रपति पुटिनलाई भ्रष्ट्र व्यक्ति भएको आरोप लगाउँदै आएका थिए।

उनी भ्रष्ट्राचारविरोधी अभियानकर्ता पनि थिए।

सन् २०१८ को राष्ट्रपतीय निर्वाचनमा उनी उम्मेदवार बन्न खोजेका थिए तर उनलाई आर्थिक हिनामिनाको आरोपमा उम्मेदवार बन्न दिइएन।

नडराई बोल्ने ब्लगरका छवि बनाएका उनलाई सामाजिक सञ्जालमा लाखौँ रुसीले पढ्थे र सन् २०२० मा उनका केही समर्थकहरू साइबेरियाको स्थानीय निर्वाचनमा निर्वाचित पनि भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
Advertisements
Single Page - Sidebar 1