काठमाडौं – मोरङकी ३० वर्षीया बिनिता (नाम परिवर्तन) दुई वर्षअघि वैदेशिक रोजगारीका लागि भारत हुँदै कुवेत पुगेकी थिइन् । कुवेतका लागि गए पनि उनलाई इराक पुर्याइयो । घरेलु कामदारका रूपमा लगिएकी उनी यौन हिंसामा परिन् । दुई साताअघि बिनिता ५ महिनाको गर्भ बोकेर नेपाल फर्किइन् ।
परिवारको आर्थिक स्थिति कमजोर रहेकाले भरथेगका लागि विदेशिएकी उनलाई दलालले कुवेत हुँदै इराक पुर्याएका थिए । घरकी जेठी छोरी उनलाई भाइबहिनी पढाउनुपर्ने बाध्यता थियो । बूढा बाआमाको जिम्मेवारी पनि उनीमाथि नै थियो । साथीभाइकै सल्लाहले नै उनी दलालमार्फत गएकी थिइन् । गाउँमा एक लाख ऋण खोजेर विदेश गएको उनी बताउँछिन् ।
रहरले विदेश त को जान्थ्यो र ? पैसा कमाउन इराक पुगेँ, ठूलो पीडा भोगेर फर्किएँ,’ उनले खबरहबसँग आफ्नो व्यथा सुनाइन् भनिन् ।
विनिता इराकमा घरेलु कामदार थिइन्, त्यही घरको मालिकले यौन शोषण गर्न थाले । हारगुहार गर्ने ठाउँ उनले कतै पाइनन् । ‘धेरै सपना बोकेर विदेश गएकी थिएँ, तर यस्तो भयो,’ यसो भनिरहँदा बिनिताका आखाँमा आँशु भरिए ।
दुई साताअघि नेपाल फर्किएकी विनिता वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका महिलाहरूको उद्धार गर्ने एक सेल्टरमा छिन् । गर्भ बोकेर फर्किँदा इज्जत जाने डरले उनी घर जान सकेकी छैनन् । परिवारलाई नेपाल आइपुगेको पनि बताएकी छैनन् ।
इराकमा घरेलु काममा जाने महिलाले घर बाहिर निस्कन पाउँदैनन् । उनीहरूलाई घरभित्रै राखेर घरधनीले आफूखुसी व्यवहार गर्ने गरेको उनी सुनाउँछिन् । उनी भन्छिन्, ‘गर्भ बसेको थाहा पाउञ्जेल गर्भपतन गर्न सक्ने समयावधि नाघिसकेछ ।’ कामैकामले महिनावारी रोकिएको समेत बिर्सिएको उनी सुनाउँछिन्, ‘महिनावारी नभएको धेरै पो भयो जस्तो लागेर चेक गर्दा पो
थाहा भयो, गर्भवती भएँछु ।’
इराकी घरबेटीले नेपाल गएर गर्भपतन गर्नू भनेर पठाए । खाडी देशमा गर्भपतनलाई कानुनी मान्यता नदिइएकाले नेपाली चेलीहरूलाई त्यत्तिकै नेपाल फर्काइन्छ । कतै उजुरी गर्न सक्ने अवस्था नभएपछि चुपचाप स्वदेश फर्किएको बिनिता बताउँछिन् । तर, नेपालमा ५ महिनाको गर्भपतन गैरकानुनी रहेछ । अब जसरी पनि बच्चा जन्माउनुको विकल्प छैन ।
प्रेमकुमारीको अर्को कथा
पाँचथरकी ३२ वर्षीया प्रेमकुमारी (नाम परिवर्तन) दुई वर्ष अगाडि वैदेशिक रोजगारीमा गएकी थिइन् । परिवारकै सरसलाहमा उनी जोर्डन गइन् । घरमा साना बच्चाहरु छाडेर रोजगारीको सिलसिलामा जोर्डन पुगेकी उनलाई सँगै काम गर्ने पाकिस्तानी नागरिकले बलात्कार गरे । एउटा गलैँचा उद्योगमा काम गर्ने सहकर्मीबाटै यो घटना भएको थियो ।
उनी भन्छिन्, ‘काम सकेर कोठामा फर्किने बेला बाटोबाटै अपहरणमा परें । हिँड्दाहिँड्दै उक्त पाकिस्तानीले रुमाल सुघाँइदिएको थियो । ए ! यो के गरेको भन्दा– नभन्दै म बेहोस भइछु । होस् आउँदा सडक किनारमा थिएँ ।’
सँगै काम गर्नेले यस्तोसम्म गर्ला भनेर कहिले नसोचेको उनले बताइन् ।
गर्भवती भएको थाहा पाएपछि जोर्डनस्थित कम्पनीले उनलाई घर फर्काइदिएको छ । अहिले उनी ६ महिनाको गर्भ बोकेर नेपाल फर्किएकी छन् । तर, उनलाई आफ्नै परिवारले अस्वीकार गरेको छ । उनका श्रीमानले उनलाई स्वीकार गर्न नसक्ने भन्दै माइतीको जिम्मा लगाइदिएका छन् ।
किशोरावस्थामै मागी विवाह गरेकी प्रेमकुमारी यतिबेला घर न घाटकी भएकी छन् । उनलाई गर्भ फाल्न मन छैन । आफ्ना दुई छोराछोरीदेखि टाढा हुन पनि मन छैन । तर, श्रीमानले अस्वीकार गरेपछि उनले आफ्नै घरमा बास पाएकी छैनन् ।
संगीताको पनि उस्तै पीडा
इटहरीकी संगीता (नाम परिवर्तित) ४ वर्ष अगाडि गर्भ बोकेर नेपाल फर्किइन् । गैरकानुनी बाटो हुँदै घरेलु कामदारका रूपमा उनी कुवेत पुगेकी थिइन् । कुवेती नागरिकको घरमा काम गर्दै गर्दा उनले गर्भ बोकिन् । त्यसपछि उनी अरु महिलासरह नेपाल फर्किइन् ।
उनी अहिले काठमाडौंको एक सेल्टरमै छिन् । परिवारले घर फर्कन पर्दैन भनेपछि उनी सेल्टरमै आश्रय लिएर बसेकी हुन् । उनको बच्चा अहिले ३ वर्ष पुग्यो । अब स्कुल पठाउने बेला भएको छ । तर, जन्मदर्ता छैन । संगीता भन्छिन्, ‘संस्थाबाटै म्याडमले जन्मदर्ताका लागि कोसिस गर्दै हुनुहुन्छ ।’
संगीतालाई नेपाल फर्किदा जाबो एउटा बच्चा त जसरी नि पालिन्छ भन्ने लागेको थियो । तर, बच्चाका लागि बुबाको नाम पनि उत्तिकै महत्वपूर्ण रहेछ । नेपालमा त अझै पनि आमाका नामबाट जन्मदर्ता, नागरिकता बनाउन कठिन छ भन्ने उनले भनिन् ।
उनलाई आजको भन्दा पनि छोरो ठूलो भएपछि नागरिकता बनाइदिने कसरी भन्ने चिन्ताले सताउन थालेको । उनी भन्छिन्, ‘यस्तै कुराले धेरैपटक आत्महत्या गर्न मन लाग्यो । फेरि बच्चा सम्झेर जसरी पनि बाँच्नुपर्छ लाग्छ ।’
दिमागमा धेरै कुरा खेलेर डिप्रेसनमा पुगेको संगीता बताउँछिन् । विदेश गएर पैसा कमाएर जिन्दगी सुखी बनाउने सपना तुहिएको भन्दै उनी निराश हुन्छिन् ।
यी केही प्रतिनिधि पात्र हुन् । वैदेशिक रोजगारीमा गएका धेरै महिला गर्भ बोकेर नेपाल फर्किन बाध्य छन् । घरेलु रोजगारीमा गएका अधिकांश महिला रोजगारदाताबाटै हिंसामा पर्ने गरेको वैदेशिक रोजगारी क्षेत्रमा काम गर्दै आएका विभिन्न सङ्घसंस्थाको अध्ययनले देखाउँछ ।
वर्षमा ३० बढी गर्भ बोकेर आउँछन् : परामर्शदाता
यौन शोषणमा परेर गर्भवती भई फर्किएका महिलालाई सहयोग गर्दै आएको संस्था पौरखी नेपालकी रणनीतिक परामर्शदाता मञ्जु गुरुङ वार्षिक २५ देखि ३० जना महिला गर्भवती भएर नेपाल फर्काइदिनू भन्दै सहयोग माग्न आउने गरेको बताउँछिन् ।
गुरुङ खबरहबसँग भन्छिन्, ‘भर्खरै पनि गर्भवती भएर नेपाल फर्काउन सहयोग माग्ने दुई जना चेलीलाई आवश्यक कागजात बनाइरहेकी छु ।’ ‘श्रम नीति विभेदपूर्ण हुँदा यो समस्या खेप्नुपरेको छ । सरकारले महिला श्रमिकलाई घरेलु कामदारका रुपमा लगाइएको बन्देजको परिणाम हो,’ उनले भनिन् ‘पुरुषहरू वैदेशिक रोजगार बोर्डमा पैसा तिरेर जान्छन् । उनीहरु अप्ठ्यारोमा परे सरकारले नै उद्धार गर्छ । तर, महिलाको हकमा सरकार जिम्मेवार छैन ।’
सरकारले महिलालाई घरेलु कामदारका रुपमा पठाउन स्वीकृति दिन पनि सक्दैन । र, नेपालमा काम दिन पनि सक्दैन । श्रम स्वीकृति नभए पनि वैदेशिक रोजगारीमा जानु महिलाको बाध्यता छ ।
अभिलेख नहुने हुँदा महिलालाई हिंसा गरे पनि केही हुँदैन भन्ने छ,’ मञ्जु सरकारलाई प्रश्न गर्छिन्, ‘महिलाले रोजगार भएर बाँच्न पाउने अधिकार खै ? उनीहरूको रोजगारको सुनिश्चितता खै ?’
वार्षिक चार सयको हाराहारीमा महिलाहरू न्यायका लागि आउने गरेको मञ्जुले खबरहबलाई सुनाइन् । उनी भन्छिन्, ‘हामी समस्यामा पर्यौं भनेर आउनेहरुको मात्रै हो संख्या हो । आउँदै नआउने को त हिसाब नै छैन ।’
महिलाहरू बेचबिखनमा पर्ने र असुरक्षित हुने अवस्थाको अन्त्य गर्न महिलासम्बन्धी श्रम नीति सच्याउन आवश्यक रहेको गुरुङको माग छ । घरेलु महिला कामदारका रुपमा विदेश जान प्रतिबन्ध लगाइएको देशमा पनि अवैध बाटो हुँदै गएका धेरै महिला आर्थिक, शारीरिक र मानसिक शोषणमा पर्ने गरेका छन् । गुरुङको विचारमा यो सरकारकै कमजोरी हो ।
पछिल्लो समय गैरकानुनी रूपमा नेपाली चेली मन मिल्दा लिभिङ टुगेदरमा बस्ने र मन नमिलेपछि गर्भ बोकाएर केटाहरू भाग्ने हुँदा धेरै चेलीले उद्धारका लागि हारगुहार गर्ने गरेको उनी सुनाउँछिन् ।
‘न त उनीहरूसँग कुनै भिसा छ, न त कुनै विवाह दर्ता छ, माया प्रेमपछि सँगै बस्ने गर्छन्, समस्या भएपछि केटाहरू भाग्ने गरेको पाइएको छ,’ उनले बच्चा जन्म दिएर भाग्ने र महिला अलपत्र पर्ने धेरै केसहरू आएको बताइन् ।
पौरखी नेपालले हिंसामा परेका चेलीहरुलाई स्वदेश आइसकेपछि आवासको व्यवस्था गर्ने र आवश्यकता पहिचान गरेर समाजमा स–सम्मान पुनर्स्थापना गर्ने काम गरिरहेको छ ।
नागरिकता प्राप्तिमा समस्या : अधिवक्ता
अधिवक्ता सोमप्रसाद लुइटेलले विदेशबाट गर्भ लिएर आएकालाई नागरिकता प्राप्तिमा समस्या हुने बताउँछन् । वैदेशिक रोजगारीमा जाने कामदारलाई निःशुल्क कानुनी सहायता प्रदान गर्दै आइरहेको मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) का लुइँटेलले उनीहरुबाट जन्मेका बच्चाले कुन देशको नागरिकता पाउने भन्ने प्रश्न सबैभन्दा कठिन हुने बताए । उनी भन्छन्, ‘नेपाल आइसकेपछि नागरिकता बनाउन निकै गाह्रो भएको अवस्था छ ।’
पिपुल फोरममा धेरै यस्ता समस्या लिएर आउने लुइटेल बताउँछन् । यसको उपयुक्त कानुनी उपचार भनेको गन्तव्य देशमा नै नाता कायम गर्नुपर्छ । तर, घरेलु कामदारका रुपमा गएका आम महिलालाई आफू गएको देशको कानुनबारे ज्ञान नभएको उनको अनुभव छ ।
‘गन्तव्य देशमा हुन सक्ने जोखिमका बारेमा पहिले नै जानकारी गराउन आवश्यक छ । बलात्कार हो भने पनि त्यो देशको कानुन अनुसार जानुपर्छ । दण्ड जरिवाना गरिनुपर्छ, उनले भने ।
स्वेच्छा, बाध्यतामा वा हिंसामा परेर महिला गर्भवती हुने अवस्था छ । ‘वैदेशिक रोजगारमा जाने महिलाका लागि नेपालकै एयरपोर्टबाट जान सक्ने अवस्था सिर्जना गर्नुपर्यो । सरकारले नीति बनाइदिन आवश्यक छ । उनीहरूलाई सुरक्षित गर्नको लागि महिलामाथि गरिएको प्रतिबन्ध खुलाउनुपर्छ ।
सरकार बेखबर
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरे भने मन्त्रालयमा त्यस्ता समस्या लिएर आजसम्म कोही नआएको बताउँछन् । उनी भन्छन्, ‘हामीसँग त्यस्ता कुनै महिला अहिलेसम्म मलाई यस्तो भयो भनेर आएका छैनन् ।’
महिलाहरू श्रम स्वीकृति नभएको मुलुकमा गएका छन् । त्यसको अभिलेख नहुने हुँदा पनि मन्त्रालयमा नआएको उनको अनुमान छ ।
समस्या लिएर मन्त्रालयमा नआए पनि खाडीमा विभिन्न हिंसा भोग्नुपरेको घटनाबाट भने घिमिरे बेखबर भने छैनन् । महिलाको सुरक्षाको दृष्टिकोणले नै खाडी मुलुकका लागि श्रम स्वीकृति नदिइएको उनको तर्क छ ।
सरकारले कानुनीरूपमा वैदेशिक रोजगारीमा जाने कामदारको हकमा संस्थागत रुपमा १ सय १० देशमा खुला गरेको छ । तर हालसम्म १२ मुलुकसँग मात्र सरकारीस्तरमा श्रम सम्झौतामा हस्ताक्षर भएको छ । तीमध्ये महिलाको हकमा ओमानसँग मात्रै श्रम स्वीकृति लिइएको छ । महिलाहरू स्वीकृति नदिएको देशमा जाँदा असुरक्षित भएको सरकारी अधिकारीहरूको तर्क छ ।
Discussion about this post