बैंकहरूले किने ७ खर्बको सेयर, आम्दानी बढाउने नयाँ अस्त्र, सरकारी बैंक नै अघि

Picture of हरियो पाटी

हरियो पाटी

529
SHARES
725
VIEWS

वाणिज्य बैंकहरुले आफ्नो पोर्टफोलियोको ठूलो हिस्सा सेयर बजारमा लगानी गरेका छन् ।

२७ वाणिज्य बैंकहरुले सेयर बजारमा ६ खर्ब ८६ अर्ब रुपैयाँ लगानी गरेको देखिएको छ ।

गत आर्थिक वर्षको तुलनामा यो वर्ष बैंकले सेयर खरिदमा गरेको लगानी २४ अर्ब ४० करोड रुपैयाँले घटेको छ । गत वर्ष बैंकहरुले ७ खर्ब ११ अर्ब रुपैयाँ लगानी गरेका थिए ।

सेयर बजारमा गरेको लगानीबाट प्राप्त आम्दानीले कतिपय बैंकले लगानीकर्तालाई आकर्षक लाभांशसमेत बाँडेका छन् ।

कोभिड १९ ले लगानीका अन्य क्षेत्र संकुचनमा परेपछि सेयर बजार निरन्तर रुपमा उकालो लागेको थियो । सोही अवसरलाई उपयोग गर्दै बैंक तथा वित्तीय संस्थाले सेयर बजारमा लगानी बढाएका थिए ।

यसरी लगानी गर्नेमा सरकारी बैंकहरु अघि छन् ।

सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सबैभन्दा धेरै ४६ अर्ब ७७ करोड रुपैयाँबराबरको सेयर किनेको देखिन्छ । गत वर्षको यसै अवधिमा बैंकले ७१ अर्ब ६ करोड रुपैयाँबराबरको  सेयर खरिद गरेको थियो ।

दोस्रो बढी सेयर किन्नेमा ग्लोबल आइएमई बैंक छ । बैंकले ४४ अर्ब ४७ करोड रुपैयाँबराबरको सेयर किनेको दोस्रो त्रैमासिक वित्तीय विवरणमा उल्लेख छ ।

यस्तै सेयर बजारमा धेरै लगानी गर्नेमध्ये तेस्रो स्थानमा नबिल बैंक रहेको छ । उसले सेयर बजारमा ४० अर्ब ७२ करोड रुपैयाँ लगानी गरेको छ ।
सेयर बजारमा सबैभन्दा कम लगानी गर्नेमा सिभिल बैंक रहेको छ । चालू आर्थिक वर्षको ६ महिनासम्ममा १२ अर्ब ३४ करोड रुपैयाँ सेयरमा लगानी गरेको छ ।

यस्तै लक्ष्मी बैंक, सेन्चुरी बैंक, नेपाल क्रेडिड एन्ड कमर्स र नेपाल बंगलादेश बैंक सिभिलपछिका कम सेयर खरिद गर्ने बैंकहरु हुन् ।

वाणिज्य बैंकहरुले आफ्नो वासलातको सम्पत्तितर्फ ‘धितोपत्रमा लगानी’ शीर्षकअन्तर्गत सेयर बजारमा भएको लगानीलाई देखाउने गर्छन् । यद्यपि उक्त शीर्षकमा सेयर बजारमा मात्रै गरेको लगानीबाहेक  ऋणपत्र र सामूहिक लगानी कोष र सरकारको ऋणपत्रमा गरेको लगानीलाई समेत जोडेर देखाउँछन् ।

कुनै पनि वाणिज्य बैंकले एक संगठित संस्थाको सेयर, डिबेन्चर र सामूहिक लगानी कोषको सेयर खरिद गर्दा कुल प्राथमिक पुँजीको बढीमा १० प्रतिशत र सबै संगठित संस्थाको सेयर, डिबेन्चर र सामूहिक लगानी कोषमा प्राथमिक पुँजीको ३० प्रतिशत मात्रै सेयर खरिद गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

कुनै पनि संगठित संस्थाको सेयर खरिद गर्दा पनि उक्त संस्थाको कुल प्राथमिकता पुँजीको १० प्रतिशतभन्दा बढी किन्न नपाउने व्यवस्था  छ ।
बैंकहरुले राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी सेयर बजारमा लगानी गरेमा बढी भएको लगानीबराबरको रकम प्राथमिक पुँजीबाट घटाएर मात्रै पुँजीकोष गणना गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

आफ्नो वित्तीय स्वार्थ भएका संस्थाको सेयरमा लगानी गर्दा प्राथमिक पुँजीको २० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था भए पनि पुँजीकोष गणनाका लागि उक्त रकम घटाउनुपर्ने व्यवस्था छ ।

बैंकहरुले राष्ट्र बैंकले तोकेको पुँजीकोष नपुर्याएमा उनीहरुको लाभांश वितरणमा रोकसमेत लगाउन सक्ने व्यवस्था छ । जसको पछिल्लो उदाहरण एनआईसी एसिया बैंक हो । पर्याप्त पुँजीकोष नपुर्याउँदा बैंकले गत आर्थिक वर्षको लाभांश वितरण गर्न पाएन ।

गत आर्थिक वर्षको १० जेठमा राष्ट्र बैंकले निर्देशन जारी गर्दै एक आर्थिक वर्षमा कुल प्राथमिक पुँजीको १ प्रतिशत सेयर मात्रै बेच्न पाउने व्यवस्था गरेको थियो ।

तर, सोही मितिसम्म खरिद भइसकेका सेयर तथा डिबेन्चर बिक्री गर्नका लागि असार मसान्तसम्मको समय दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित