काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा झण्डै पाँच महिना लामो विदेश बसाइपछि स्वदेश फर्किएका छन् । गत फागुन १३ गते स्वास्थ्य उपचारका लागि भन्दै सिंगापुर उडेका देउवा बिहीबार फर्किएका हुन् ।
गत पुस अन्तिम साता भएको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि १४ औँ महाधिवेशनबाट निर्वाचित सभापति देउवाको पद खोसिएको थियो । विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । देउवा फर्किएपछि कांग्रेसभित्रको चर्किएको शक्ति संघर्ष ‘क्लाइमेक्स’ मा पुग्ने देखिएको छ । विशेष महाधिवेशनपछि पार्टी सत्ताबाट बाहिरिएको देउवा र नेता डा. शेखर कोइराला समूहले शुक्रबारबाट काठमाडौँमा २ दिनका लागि राष्ट्रिय भेला आयोजना गरेको छ ।
संस्थापन भने साउन १४ गतेबाट केन्द्रीय समिति बैठकमा व्यस्त हुँदा बिहीबार मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देउवाको स्वागतका लागि उनका समर्थकहरूको ठुलो भिड थियो । पञ्चेबाजा, सांस्कृतिक झाँकी र चर्को नाराबाजीबिच उत्रिएका देउवालाई प्रहरीको कडा सुरक्षा घेरामा विमानस्थलबाट चुनदेवीस्थित इतर समूहले राष्ट्रिय भेलाको तयारीका लागि भन्दै खोलेको सम्पर्क कार्यालयमा पुर्याइयो ।
बाहिरबाट हेर्दा यो एक शक्तिशाली नेताको भव्य स्वागतजस्तो देखियो । यसको पृष्ठभूमिमा ‘सम्पत्ति शुद्धीकरण’को गम्भीर अनुसन्धान पनि लुकेको छ ।
२०८२ भदौ २४ को जेनजी आन्दोलनका क्रममा देउवाको बुढानीलकण्ठस्थित निवासमा आगजनी हुँदा जलेका नोटका टुक्रा फेला परेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीमाथि अनुसन्धान सुरु गरेको थियो । काठमाडौँ जिल्ला अदालतले देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी समेत जारी गरेको थियो ।
तर, सम्पत्ति शुद्धीकरणको मुद्दा हेर्नका लागि ‘डेडिकेटेट’ अलालत विशेष अदालत रहेको भन्दै सर्वोच्च अदालतले देउवाका नाममा जारी भएको पक्राउ पूर्जी खारेज गरेको थियो । सरकारले इन्टरपोलमार्फत ‘रेड नोटिस’ जारी गर्ने प्रयास गरे पनि आधार नपुगेको भन्दै इन्टरपोलले अस्वीकार गरेको थियो । देउवा नेपाल फर्किएसँगै यो कानुनी प्रक्रियाले कुन मोड लिन्छ, सबैको चासोको विषय बनेको छ ।
गगनको ‘स्वागत’ र देउवाको ‘अपील’
देउवा स्वदेश फर्किएकै दिन सानेपामा कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी थियो । विशेष महाधिवेशनमार्फत नेतृत्व सम्हालिरहेका सभापति थापाले बैठकको सुरुवातमै देउवालाई ‘स्वास्थ्य लाभको कामनासहित स्वदेशमा स्वागत’ भन्दै बैठकको सुरुवात गरे । यो स्वागत जति औपचारिक देखिन्थ्यो, त्यसभित्रको राजनीतिक अर्थ त्यति नै गहिरो छ ।
थापा नेतृत्व विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिको ‘आधिकारिकता’ माथि देउवा पक्षले प्रश्न उठाइरहेको छ र त्यही केन्द्रीय कार्यसमितिलाई ट्रयाकल दिन भन्दै साउन २९ (भोलि)देखि राष्ट्रिय भेलाको आयोजना गरेको छ । त्यही पूर्वसन्ध्यामा देउवाको आगमनले कांग्रेसभित्रको आन्तरिक विवादलाई थप पेचिलो बनाएको छ ।
देउवाले स्वदेश फर्किएलगत्तै अपील जारी गर्दै आफूलाई ‘शक्ति नचाहिएको’ तर ‘पार्टीभित्रको निराशा चिर्न’ आफू सक्रिय हुने उल्लेख गरेका छन् । उनले २०३३ सालमा बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको प्रसङ्ग जोड्दै आफूलाई एकताको सुत्रधारका रूपमा प्रस्तुत गर्न खोजेका छन् । इतर समूहको सम्पर्क कार्यालय चुनदेवीमा नेता कार्यकर्तालाई सम्बोधन गर्दै देउवाले सांकेतिक रूपमा भने, ‘राजा ज्ञानेन्द्रले त सकेनन्, अरू सक्ला यहाँ ? यो देशको मालिक जनता हुन् ।’ उनले आफूविरुद्ध लागेका मुद्दाहरूलाई ५० वर्षको राजनीतिक निष्ठामाथिको प्रहार भन्दै अदालतको कठघरामा उभिन तयार रहेको चुनौतीसमेत दिए ।
अब के होला कांग्रेसमा ?
देउवाको स्वदेश फिर्तीले अहिलेको अवस्थामा कांग्रेसमा तीन मुख्य बदलाव आउने देखिन्छ ।
१. विशेष महाधिवेशनबाट आएको गगन थापाको नेतृत्वको कार्यसमितिलाई चुनौती दिँदै इतर (देउवा र डा.कोइराला)समूहले अब आफ्नो पकड मजबुत बनाउने प्रयास गर्नेछ । साउन २९ को भेला त्यसको पहिलो खुड्किलो हुनेछ । सर्वोच्च अलालतले दिएको पुनरवलोकन अनुमतिलाई पनि भरपुर उपयोग गर्ने देखिन्छ ।
२. जेनजी आन्दोलन र युवा पुस्ताको असन्तोषलाई सम्बोधन गर्ने नाममा देउवाले थापाको ‘पपुलिस्ट’ राजनीतिलाई काउन्टर दिने रणनीति अख्तियार गर्ने देखिन्छ । त्यसको केही संकेत उनले आफ्नो अपिलमा पनि गरेका छन् । देउवाले अपिलमा बदलिँदो समयसँगै पार्टीलाई पनि रूपान्तरण गर्दै लैजाने र नयाँ पुस्ताको सिर्जनशील क्षमतालाई कदर गर्ने बताउँदै विगतको त्याग र बलिदानलाई नजरअन्दाज नगर्न चेतावनी दिएका छन्, ‘बदलिँदो समयसँगै पार्टीलाई पनि रूपान्तरण गर्दै लैजाने र नयाँ पुस्ताको सिर्जनशील क्षमतालाई कदर गर्नुपर्छ । तर, विगतका त्याग र बलिदानलाई नजरअन्दाज गरिनुहुन्न । नयाँ र पुराना पुस्ताबिचको सहकार्यमा अगाडि बढ्नुपर्छ ।’
३.सम्पत्ति शुद्धीकरणको अनुसन्धान र पक्राउ पुर्जीको कार्यान्वयनलाई देउवाले ‘राजनीतिक प्रतिशोध’को रूपमा व्याख्या गरिसकेका छन् । उनी नेपाल फर्किएपछि सडक र सदन दुवैतिर दबाब सिर्जना गर्ने सम्भावना पनि देखिन्छ ।

_U1ooH7l8BT.gif)



















Discussion about this post