काठमाडौँ । सुनसरीमा साउन १० गते भएको झडपपछि त्यसको असर मधेसका जिल्लामा पनि परेको थियो । साउन १४ मा सिरहाको गोलबजारमा भएको प्रदर्शनमा प्रहरीसँगको झडपमा १८ वर्षीय गणेश यादवले ज्यान गुमाएका थिए । औरही गाउँपालिका–२ घर भएका यादवलाई मन्त्रिपरिषद्ले सहिद घोषणा गरिसकेको छ ।
गणेश यादवको मृत्युको कारण र त्यसमा संलग्नमाथि गृह मन्त्रालयले छानबिन गरिरहेको छ । मन्त्रालयले सहसचिव पुष्पराज शाहीको नेतृत्वमा समिति गठन गरेको छ । समितिले छानबिन गरिरहेको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्लेले रातोपाटीलाई बताए । उनले भने, ‘समितिले छानबिन थालेको छ ।’
समितिका सदस्यहरू सिरहा पुगेर स्थलगत अनुगमन गरेका छन् । पोस्टमार्टममा गणेशको शरीरमा गोली लागेको पुष्टि भएको छ । तर, प्रहरीले अहिलेसम्म गोली लागेको तथ्य बताउन अस्वीकार गर्दै आएको छ ।
गोलबजारमा दुई जना घाइते भएका थिए । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर–८ घर भएका १९ वर्षीय सुवास ठाकुर र गोलबजार नगरपालिका–४ वर्ष ६२ को आलम खान घाइते भएका थिए । ठाकुरको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदै छ । गोलबजारमा प्रदर्शनकारीले ११ वटा मोटरसाइकल र एउटा सपिङ मलमा आगजनी गरेका थिए ।
लहान नगरपालिका–४ मा प्रदर्शनकारी र प्रहरीबिच झडप हुँदा एक प्रहरी कर्मचारीलाई गोली लागेको प्रहरीले दाबी गरेको थियो । प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय लहानमा कार्यरत सहायक हवल्दार नारद परियारको दाहिने खुट्टामा घुँडाभन्दा मुनि गोली लागेको बताएको थियो । तर, गृह मन्त्रालयका एक उच्च अधिकृतका अनुसार परियारलाई गोली लागेको छैन । गृहका ती अधिकृत भन्छन्, ‘फलाम प्रकृतिको कडा बस्तुले घोचेको रहेछ, गोली लागेको देखिएन ।’
सहायक हवल्दार परियारको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार गरिएको थियो ।
यो समाचार रातोपाटी बाट साभार गरिएको छ ।

_u6UNP8PM7A.gif)



















Discussion about this post