गोलबजार। दीपावली तथा छठपर्वको अवसरमा सामाजिक सद्भाव, आपसी एकता र भाइचारा कायम राख्ने उद्देश्यले सिरहाको गोलबजार नगरपालिका–११ का वडा अध्यक्ष सोहेव अनवरले दलित, अति विपन्न, एकल महिला तथा ज्येष्ठ नागरिक महिलालाई आर्थिक सहयोगसहित मिठाई वितरण गरेका छन्।
वडा अध्यक्ष अनवरले वडाका ३५ जना विपन्न तथा लक्षित वर्गका व्यक्तिलाई नगद आर्थिक सहयोग र मिठाईका डब्बा वितरण गरेका हुन्।
गत साउन १० गते सुनसरीको कप्तानगञ्जबाट सुरु भएको विवादले साउन १४ गते गोलबजारमा समेत तोडफोड र आगजनीको घटना निम्त्याएको थियो। उक्त घटनापछि दुई समुदायबीच सामाजिक सद्भाव, आपसी विश्वास र मेलमिलाप कायम राख्नुपर्ने आवश्यकता अझ बढेको वडा अध्यक्ष अनवरले बताए।
सोही घटनाबाट उत्पन्न परिस्थितिलाई समेत मध्यनजर गर्दै चाडपर्वको खुसी सबैको घरसम्म पुर्याउने तथा समाजमा वर्षौंदेखि कायम रहेको एकता, सद्भाव र भाइचारालाई थप मजबुत बनाउने उद्देश्यले सहयोग कार्यक्रम सञ्चालन गरिएको उनले स्पष्ट पारे।
भावुक हुँदै वडा अध्यक्ष अनवरले भने, “दीपावलीमा सबैको घरमा दियो बलोस्, कसैको घर अँध्यारो नरहोस् र चाडपर्वमा सबैको मुहारमा खुसी छाओस् भन्ने हाम्रो चाहना हो। साउन १४ गतेको घटनाबाट सिर्जना भएको परिस्थितिलाई ध्यानमा राख्दै आपसी सद्भाव, मेलमिलाप र एकताको सन्देश दिन यस वर्ष फरक ढंगले सहयोग गरेका हौँ।”
उनले चाडपर्व कुनै एक समुदायको मात्र नभई सबैको साझा खुसी र उत्सव भएको उल्लेख गर्दै समाजमा आपसी विश्वास, सद्भाव र भाइचारा कायम राख्न सबैले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
वडा अध्यक्ष अनवरले आफनो श्रोतबाट आर्थिक सहयोग गरेको बताए । अध्यक्ष अनबरले प्रतेकवर्ष चाडपर्वमा दलित अतिबिपन्न हरुलाइ आर्थिक सहयोग गर्दै आएको स्थानी महिला हरुले बताए ।


















Discussion about this post