काठमाडौं – सरकारले भारतको सूर्या फुड एन्ड एग्रो लिमिटेडद्वारा उत्पादित प्रियागोल्ड ब्रान्डका सम्पूर्ण बिस्कुटको पैठारी, सीमानाका प्रवेश र नेपालभित्र बिक्रीवितरणमा पूर्ण रोक लगाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उक्त ब्रान्डको बिस्कुट मानिसको उपभोगका लागि नभएकाले नेपालमा बिक्रीवितरणमा रोक लाइएको हो । सो ब्रान्डको बिस्कुट भारतमा यसअघि नै मानव खपतका लागि रोक लगाइएको थियो । विभागका अनुसार नेपालमा पनि आयात हुने गरेको प्रियागोल्ड बिस्कुट खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत भएको पाइएकाले बिक्रीवितरणमा रोक लगाइएको हो ।
बिस्कुट बनाउन गाईवस्तुको दाना प्रयोग
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एसएसएआई) ले गरेको परीक्षणमा प्रियागोल्ड बिस्कुट उत्पादनमा गाईवस्तुको दानाका रूपमा प्रयोग गरिने चोकरलाई रेसा/फाइबरको स्रोतका रूपमा प्रयोग गरेको पाइएको थियो । उक्त चोकर राखिएका जुटका बोरामा स्पष्ट रूपमा ‘गाईवस्तुको दानाका लागि’ र ‘मानव उपभोगका लागि नभएको’ उल्लेख गरिएको थियो । यसका साथै कारखानामा सरसफाइ, कीट नियन्त्रण, कच्चा पदार्थ भण्डारण र कर्मचारीको व्यक्तिगत स्वच्छतामा गम्भीर लापर्बाही पाइएपछि एसएसएआईले उत्पादक कम्पनीको इजाजतपत्र निलम्बन गरी अभियोजन प्रक्रिया अघि बढाएको छ ।
बजारबाट तत्काल फिर्ता गर्न आदेश
विभागका महानिर्देशक सञ्जीवकुमार कर्णको उपस्थितिमा बसेको उच्च व्यवस्थापन समूह र प्रोडक्ट रिकल प्राविधिक समितिको भर्चुअल बैठकको सिफारिसका आधारमा यो निर्णय गरिएको विभागले जनाएको छ । विभागका अनुसार नेपालका आधिकारिक पैठारीकर्ता तथा खाद्य व्यवसायीलाई कानुनबमोजिम प्रियागोल्डका सबै ब्याच र जुनसुकै उत्पादन मितिका बिस्कुट बजारबाट तत्काल फिर्ता गरी सञ्चय तथा अभिलेखीकरण गर्न निर्देशन दिएको छ । उक्त उत्पादन नष्ट गर्नुपर्ने अवस्था आएमा स्थानीय तह वा स्थानीय प्रशासनका प्रतिनिधि र विभागका प्राविधिक कर्मचारीको रोहबरमा उपयुक्त तरिकाले नष्ट गरी विभागलाई जानकारी गराउनुपर्ने छ ।
अर्को आदेश नभएसम्मका लागि सीमानाकाबाट प्रवेश अनुमति तथा पैठारी स्वीकृति स्थगित गरिएको छ । विभागको आदेशविपरीत बिक्रीवितरण गरेमा वा जनस्वास्थ्यमा सम्झौता गरेमा प्रचलित कानुन अनुसार कडा कारबाही गरिने चेतावनीसमेत विभागले दिएको छ ।


















Discussion about this post