धनुषामा श्रीमतीको हत्या, श्रीमान् झुण्डिएको अवस्थामा

Picture of हरियो पाटी

हरियो पाटी

512
SHARES
701
VIEWS

धनुषा : धनुषामा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ भने उनका श्रीमान् झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। घटनामा उनीहरूका चार वर्षीय छोरा पनि घाइते अवस्थामा फेला परेका छन्।

गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरका ३५ वर्षीय उमेश यादवको शव मिथिला बिहारी नगरपालिका–२ स्थित सिर्सिया जाने बाटोको दक्षिणपट्टि आँपको रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो। उक्त स्थानबाट करिब एक किलोमिटर टाढा मिथिलेश्वरस्थित माइतीघरमा उनकी ३० वर्षीया श्रीमती रिना यादव मृत फेला परेकी थिइन्।
धनुषा प्रहरीले जनाएअनुसार रिनाको शरीरमा धारिलो हतियार प्रहारका चोट देखिएका थिए। उनको घाँटीमा धारिलो हतियारले काटिएको चोट रहेको र घटनास्थलमै मृत्यु भइसकेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
उनीहरूका चार वर्षीय छोरा सम्राट यादव पनि धारिलो हतियारको चोटसहित घाइते अवस्थामा फेला परेका थिए। बालकको दाहिने तिघ्रामा काटिएको चोट लागेको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको छ।

प्रहरीका अनुसार कात्तिक ८ गते बिहान करिब १ः५० बजे घटनाबारे सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय धनुषाधामबाट प्रहरी निरीक्षक राजेशकुमार शर्माको कमान्डमा टोली घटनास्थल पुगेको थियो। घटनास्थलबाट रगत लागेको चक्कु बरामद गरिएको प्रहरीले जनाएको छ।

रिनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ। उमेश झुण्डिएको अवस्थामा फेला परेको घटनास्थलको मुचुल्का तयार गर्ने कार्य भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको धनुषा प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित