काठमाडौं : बोलपत्र आह्वानको सूचना सार्वजनिक नगरी फर्जी पत्रिकाको प्रति तयार पारेर ठेक्का प्रक्रिया अघि बढाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच जनाविरुद्ध आरोपपत्र दायर गरेको छ।
धनुषाको धनौजी गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ मा डिप बोरिङ जडान, कोल्डस्टोरको कम्पाउन्ड वाल र विद्यालय भवन निर्माणका लागि तीनवटा योजना सञ्चालन गरेको थियो।
कानुनअनुसार ती योजनाको बोलपत्र आह्वानको सूचना राष्ट्रिय दैनिकमा सार्वजनिक गर्नुपर्ने थियो।
तर तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डल, सहलेखापाल विनोद कुमार मण्डल तथा सञ्चारमाध्यमका पदाधिकारी र प्रतिनिधिसमेतको मिलेमतोमा सूचना सार्वजनिक नगरी एकै दिनको पत्रिकाका फरक–फरक प्रति तयार पारिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ।
सार्वजनिक रूपमा वितरण गरिएको पत्रिकामा खुला बोलपत्रको सूचना प्रकाशित नगरी गाउँपालिकाको ठेक्का प्रयोजनका लागि अभिलेखमा राख्ने गरी छुट्टै प्रति तयार पारिएको अख्तियारले जनाएको छ।
त्यसैलाई आधार बनाएर विज्ञापनबापत ३ लाख ८० हजार रुपैयाँ भुक्तानीसमेत लिइएको आरोपपत्रमा उल्लेख छ।
यसरी बोलपत्रको सूचना लुकाएर सार्वजनिक खरिद प्रक्रियालाई अपारदर्शी बनाएको र प्रतिस्पर्धालाई सीमित गरेको अख्तियारको निष्कर्ष छ।
यस प्रकरणमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डल, सहलेखापाल विनोद कुमार मण्डल, जनकपुर टुडे मिडिया ग्रुपका अध्यक्ष वृज कुमार यादव, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र यादव र बजार प्रतिनिधि संजय कुमार यादवविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।
अख्तियारले पाँचै जनामाथि ३ लाख ८० हजार रुपैयाँ बिगो कायम गरी कानुनबमोजिम कैद, जरिवाना तथा बिगो असुलउपरको मागदाबी गरेको जनाएको छ।


















Discussion about this post