चिनियाँ भरियामार्फत विमानस्थलबाटै शृङ्खलाबद्ध सुन तस्करी, ९ दिनमा झन्डै ७ केजी बरामद

Picture of हरियो पाटी

हरियो पाटी

515
SHARES
706
VIEWS

काठमाडौँ । दुबईबाट आएका चिनियाँ नागरिक बिनबिन लि भन्सारको ‘वाकथ्रु गेट’ पार गर्न खोज्दै थिए। त्यहाँ खटिएका सशस्त्र प्रहरी र त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले उनलाई ज्याकेट खोलेर एक्स-रे मेसिनमा राख्न आग्रह गरे।

मङ्सिर २ गते राति ११ बजेर ४१ मिनेटमा हिमालय एयरलाइन्सको उडानबाट काठमाडौँ आइपुगेका उनी ज्याकेट खोल्न आग्रह गरिएपछि एकछिन अलमलमा परे। सुरक्षाकर्मीले फेरि आग्रह गरेपछि ज्याकेट एक्स-रे मेसिनमा राख्नुको विकल्प उनीसँग थिएन।

ज्याकेटको खल्तीमा अर्धठोस धातु रहेको एक्स-रेले ‘डिटेक्ट’ गरेपछि उनी असिनपसिन भए। ज्याकेटको खल्ती खोलेर हेर्दा चारवटा डल्ला आकार बनाएर ल्याइएको १ केजी ६०५ ग्राम अर्धठोस सुन भेटियो। अहिले ती आरोपीमाथि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विस्तृत अनुसन्धान गरिरहेको छ।

Laxmi sunrise bank

लि आउनुभन्दा एक दिनअघि अर्थात् मङ्सिर १ गते पनि एक चिनियाँ महिला सुनसहित पक्राउ परेकी थिइन्। हङकङबाट ओर्लिएकी चिनियाँ नागरिक झान गुओकिङको साथबाट ६३५ ग्राम सुन बरामद गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका निमित्त प्रमुख भन्सार प्रशासक धनबहादुर बरुवालले बताए। उनले भने, ‘मङ्सिर १ गतेपछि लगातार चिनियाँ नागरिकहरूले अवैध रूपमा ल्याएको सुन बरामद गरिरहेका छौँ।’

पछिल्लो ९ दिनको अवधिमा मात्रै विमानस्थलबाट करिब ७ केजी सुन बरामद गरिएको निमित्त प्रमुख भन्सार प्रशासक बरुवालले जानकारी दिए।मंगलबार राति क्याथे प्यासिफिकको उडानमार्फत हङकङबाट आएका दुई चिनियाँ महिला भन्सारको वाकथ्रु गेट र एक्स-रे जाँच पार गरेर बाहिर निस्किएका थिए।
Asian Paints

त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयबाट सादा पोसाकमा खटिएका प्रहरीले उनीहरूमाथि निगरानी बढाएका थिए। शङ्कास्पद गतिविधि देखिएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थाल्यो।

विस्तृत स्वास्थ्य परीक्षण तथा जाँच गर्दा मलद्वार र भित्री वस्त्र (अन्डरवेयर) भित्र लुकाएर ल्याएको अवस्थामा अर्धठोस सुन फेला पर्‍यो। चिनियाँ महिलाद्वय ४५ वर्षीया लिन लिना र ३५ वर्षीया लिन जिनपिङको साथबाट २ केजी ३४८ ग्राम सुन बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका डीएसपी ढुण्डीराज नेउपानेले बताए।

Bin Bin Li 89 2083

डीएसपी नेउपानेका अनुसार पछिल्लो समय चिनियाँ नागरिकहरूलाई भरियाका रूपमा प्रयोग गरेर मलद्वार र भित्री वस्त्रमा लुकाई सुन भित्र्याउने नयाँ आपराधिक प्रवृत्ति देखिएको छ।

प्रहरीले ती महिलाहरूमाथि मुद्दा चलाउन भन्सार कार्यालयलाई बुझाएको छ। तिनै आरोपीहरूमाथि थप चेकजाँच गर्दा फेरि ५०० ग्राम सुन फेला परेको निमित्त प्रमुख भन्सार प्रशासक बरुवालले जानकारी दिए। उनले भने, ‘एक जना चिनियाँको साथबाट थप ५०० ग्राम सुन भेटिएको छ।’

शरीरभित्र लुकाएर ल्याइने अर्धठोस प्रकृतिको सुन वाकथ्रु गेटले पत्ता लगाउन नसक्ने प्राविधिक कमजोरीका कारण विमानस्थलबाटै हुने सुनको शृङ्खलाबद्ध तस्करी रोकिन नसकेको भन्सार अधिकृतहरू बताउँछन्। पछिल्लो ९ दिनमा मात्र झन्डै ७ केजी सुन बरामद भएको तथ्याङ्कले विमानस्थल सुरक्षामा ठूलो चुनौती थपिएको देखाउँछ।

  • प्रहरी इन्टेलिजेन्समार्फत करिब ५ केजी बरामद

विमानस्थल प्रहरीले आफ्नो विशेष इन्टेलिजेन्स संयन्त्र प्रयोग गरेर पछिल्लो डेढ महिनामा मात्रै ४ किलो ९१२ ग्राम सुन बरामद गरेको छ। विमानस्थल सुरक्षा कार्यालयबाट खटिएका सादा पोसाकका प्रहरीले पूर्वसूचना र शङ्कास्पद गतिविधिका आधारमा विदेशबाट अवैध सुन बोकेर आउने भरियाहरूलाई पक्राउ गरेका हुन्।

२०८३ कात्तिकदेखि हालसम्म सुनको अवैध ओसारपसारमा संलग्न १० जनालाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका डीएसपी नेउपानेले जानकारी दिए। पक्राउ पर्नेमा ५ जना नेपाली र ५ जना चिनियाँ नागरिक रहेका छन्। बरामद गरिएको उक्त सुनको कुल बजार मूल्य १० करोड ६३ लाख रुपैयाँभन्दा बढी पर्छ।

पक्राउ परेका पाँच नेपाली नागरिकहरूमा सिराहाका बिल्टु यादव, सुनसरीका सामसाद अन्सारी, धनुषाका मकुशकुमार शाह, रुपन्देहीका सलाहुदिन मुसलमान र मोरङका गणेश कटुवाल रहेका छन्। उनीहरू प्रत्येकको साथबाट २५–२५ ग्रामका दरले सुन बरामद गरिएको थियो।

नेपाली नागरिकहरूले विदेशबाट फर्कँदा तस्करले पठाएको सुन बोकेर ल्याइदिने र त्यसबापत निश्चित कमिसन लिने गरेको अनुसन्धानबाट खुलेको छ। डीएसपी नेउपाने भन्छन्, ‘विदेशबाट तयारी गहना ल्याइदिएबापत १० हजार रुपैयाँ कमिसन लिने गरेको देखिन्छ।’ यद्यपि उनका अनुसार नेपाली भरिया प्रयोग गर्ने शैली बिस्तारै कम हुँदै गएको छ।

शरीरमा सुन लुकाएर ल्याएको कसुरमा पक्राउ परेका पाँच चिनियाँ नागरिकहरूमा बिनबिन लि, झान गुओकिङ, लिन लिना, लिन जिनपिङ र जियानहुवा वाङ रहेका छन्। मङ्सिर २ गते हङकङबाट नेपाल वायुसेवा निगमको जहाजमार्फत आएका वाङको साथबाट मात्रै प्रहरीले १ केजी ८०० ग्राम सुन बरामद गरेको थियो।

पक्राउ परेका सबै व्यक्तिमाथि भन्सार कार्यालयले विस्तृत अनुसन्धान गरिरहेको छ। सुन बोकेर आउने चिनियाँ भरियाहरूका बीचमा एकआपसमा कुनै सम्पर्क नदेखिएको भन्सार कार्यालयका निमित्त प्रमुख प्रशासक बरुवालले बताए। उनले भने, ‘अहिलेसम्मको अनुसन्धानबाट सुन बोकेर आएकाहरू एकआपसमा सिधा सम्पर्कमा रहेको पुष्टि भएको छैन।’

उनीहरूलाई विदेशबाट कसले सुन पठाएको हो भन्ने मुख्य गिरोह पत्ता लगाउन भन्सार कार्यालयका अधिकृतहरू लागिपरेका छन्। निमित्त प्रमुख बरुवाल भन्छन्, ‘उनीहरूले वीच्याटमार्फत कुराकानी गरेको त देखिन्छ, तर त्यसमा सुन सम्बन्धी कुनै प्रत्यक्ष कुराकानी भएको भेटिएको छैन।’

पक्राउ परेका चिनियाँ नागरिकहरूको मोबाइललगायत विद्युतीय उपकरण (डिभाइस) को प्राविधिक अनुसन्धान गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको समेत सहयोग लिइरहेको बरुवालले बताए। उनले थपे, ‘मुख्य सुन तस्करसम्म पुग्नका लागि हामीले प्रहरीसँग उच्च समन्वय गरेर अनुसन्धान अघि बढाइरहेका छौँ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित