मिथिलामा आजदेखि छठ पर्वको औपचारिक सुरुवात, जनकपुरका घाटहरू सिँगार्ने काम तीव्र

हरियो पाटी

हरियो पाटी

518
SHARES
709
VIEWS

धनुषा । मिथिला क्षेत्रको सबैभन्दा ठुलो पर्व छठ आजदेखि औपचारिक रूपमा सुरु भएको छ। चार दिनसम्म मनाइने यस पर्वका लागि जनकपुरधामका घाटहरूलाई सिँगार्ने काम तीव्र गतिमा भइरहेको छ।

जनकपुरधाममा रहेका गङ्गासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर र मटकोरर्वा पोखरीजस्ता जलाशयहरूमा सजावटको काम भइरहेको छ।

गङ्गासागर छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताले गत वर्षजस्तै यो वर्ष पनि गङ्गासागरको आधा भागमा सजावटको काम गरिरहेको बताए। उनले घाटको सरसफाइ र सजावटका साथै व्यवस्थापन पनि विगतभन्दा राम्रो बनाइएको जानकारी दिए। गुप्ताका अनुसार यो वर्ष प्रतिअर्घ रु ६०० सहयोगस्वरूप निर्धारण गरिएको छ। सबैले सहयोग नदिए पनि अर्घ राख्ने गरेका छन् र प्रत्येक वर्ष सहयोगबाटै व्यवस्थापन खर्च निस्किरहेको उनको भनाइ छ। गङ्गासागरको घाटमा अहिले पण्डाल लगाउने काम अन्तिम चरणमा छ भने झिलिमिली बत्तीको काम बाँकी छ। गङ्गासागरमा तीनवटा समितिले सजावटको काम गरिरहेका छन्।

SM_MAHOTARI_JALESHOR_IMG_20251024_164646

यस्तै, अरगजा सरमा छठको घाट निर्माण गरिरहेका समितिका सचिव वीरेन्द्र कर्णले दसैँ सकिएपछि नै आफूहरू तयारीमा जुटिसकेको बताए। उनले सजावट र सरसफाइका लागि काम भइरहेको जानकारी दिए। कर्णले यो पोखरीमा हिन्दू मात्र नभई मुस्लिम समुदायका केही व्यक्तिहरूले पनि अर्घ राख्ने गरेको जानकारी दिए। उनले अर्घ राख्नेहरूसँग सहयोगस्वरूप रकम लिने गरिएको भए पनि कुनै किसिमको दबाब नहुने र आर्थिक सहयोगका लागि आग्रह मात्र गरिने बताए। यस पोखरीमा पाँच हजारभन्दा बढी अर्घ रहने गरेको र यो सङ्ख्या प्रत्येक वर्ष बढ्ने गरेको उनको भनाइ छ। शान्ति सुरक्षाका लागि प्रहरीसँग पनि समन्वय गरिएको छ।

मिथिलाञ्चल क्षेत्रमा मनाइने यो पर्व पूर्ण रूपले घरेलु उत्पादनमा निर्भर रहन्छ। आफ्नै खेतबारीमा उत्पादन गरेको गहुँ, चामलजस्ता अन्नको व्यवस्था गरेर त्यसलाई धोई-पखाली घरकै जाँतोमा पिसेर त्यसको पिठोबाट छठका सामग्रीहरू बनाउने गरिन्छ।

पर्व नजिकिएसँगै बजारमा विभिन्न सामग्री किन्नेहरूको भीड लागेको छ। जनकपुरधामका बजारहरूमा बाँस र माटोबाट बनेका सामग्रीहरू जताततै बिक्री भइरहेका छन्। छठ पर्वमा बाँस तथा माटोबाट बनेका सामानलाई शुद्ध मानिने भएकाले यसको माग बढेको छ। मिथिलानीहरू अहिले माटोबाट बनेको घैँटो, हात्ती र बाँसबाट बनेको छिट्टी (टोकरी), नाङ्लो, कन्सुपतीलगायतका सामान किन्न व्यस्त छन्।

चार दिनसम्म मनाइने यस पर्वमा बर्तालुले दुई दिन बिना अन्नपानीको भोकै बस्नुपर्छ। यस पर्वअन्तर्गत पहिलो दिन आज ‘नहाय–खाए’ हुनेछ। दोस्रो दिन आइतबार दिनभरि उपवास बसी रातिमा ‘खीर’ बनाई देउतालाई चढाएर खानेछन्। यो विधिलाई ‘खरना’ भनिन्छ। त्यस्तै, मूल दिन सोमबार ठेकुवा, भुसवालगायत कृषिजन्य अन्नको पिठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटोलगायत सामग्रीको व्यवस्था गरी साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अर्घ दिइन्छ। यस्तै, छठ पर्वको अन्तिम दिन मङ्गलबार बिहानपख उदाउँदै गरेको सूर्यलाई अर्घ दिएर पर्वको समापन गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित