आयोडिन नुनको प्याकेटभित्र भ्यागुतो

Picture of हरियो पाटी

हरियो पाटी

530
SHARES
726
VIEWS

वालिङ (स्याङ्जा), असोज २० गते । स्याङ्जामा उपभोक्ताले खानका लागि खरिद गरी घरमा लगेको साल्ट ट्रेडिङ लिमिटेडको आयोडिनयुक्त नुनको प्याकेटमा मरेको भ्यागुतो भेटिएको छ ।

वालिङ नगरपालिका–७, ताप्केका ताराबहादुर थापाले वालिङ नगरपालिका–६ स्थित मिर्दीबाट खरिद गरी लिएको नुनमा सुकेको अवस्थामा मरेको भ्यागुतो भेटिएको हो ।

थापाले गोरखापत्रसँग कुरा गर्दै भन्नुभयो, “बुवा बित्नुभएको थियो, उम्कने दिनमा आफन्तलाई खुवाउन भनी ल्याइएको नुनमा मरेको भ्यागुतो सुकेको अवस्थामा भेटिएको हो ।”

भ्यागुतोको ठाउँमा अन्य वस्तु भएको भए आफूहरूको ज्यान नै जोखिममा पर्न सक्ने अवस्था हुने उहाँको भनाइ छ । सरोकारवालाको लापर्बाहीका कारण आफूहरूको स्वास्थ्यमाथि गम्भीर खेलबाड भएको थापाको गुनासो छ ।

प्रशोधन गरी उपभोक्ताले सिधै प्रयोग गर्न सक्ने नुनमा मरेको भ्यागुतो भेटिनु सारै दुःखद भएको राष्ट्रिय उपभोक्ता मञ्च स्याङ्जाका अध्यक्ष राजेन्द्र मरासिनीले बताउनुभयो ।

उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने निकायलाई तत्कालै कारबाही गर्नुपर्नेमा उहाँको जोड छ । घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रशासन खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखरालाई अनुरोध गरिएको उहाँको भनाइ छ ।

घटनाबारे आवश्यक अनुसन्धान सुरु गरिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वास्तविकता के भएको रहेछ हामी बुझ्ने क्रममा छौँ र आवश्यक निर्णय लिने छौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित