सिरहा। सिरहा जिल्लाको गोलबजार नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा बिनोद कुमार पोखरेल आज औपचारिक रूपमा हाजिर भएका छन्। नगर प्रमुख श्याम कुमार श्रेष्ठ, उप–प्रमुख मान्ती शाह, वडा नं. १ देखि १३ सम्मका वडा अध्यक्षहरू र नगरपालिकाका कर्मचारीहरूले एकैसाथ स्वागत कार्यक्रमको आयोजना गरी पोखरेललाई सम्मानपूर्वक स्वागत गरेका हुन्।
नगर प्रमुखको कार्यकक्षमा आयोजित स्वागत कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत पोखरेलले पदभार सम्हाल्ने क्रममा आफ्नो पहिलो प्राथमिकता नगरवासीलाई सहज, पारदर्शी र कानुनी दायराभित्र रहेर सेवा प्रवाह गर्ने रहेको बताए। उनले सेवाग्राहीलाई कुनै पनि काममा अनावश्यक ढिलासुस्ती वा अवरोध नहोस् भनेर नगरपालिकाका सम्पूर्ण कर्मचारीलाई जिम्मेवारी र इमान्दारितापूर्वक काम गर्न निर्देशनसमेत दिए।
कार्यक्रममा नगर प्रमुख श्याम कुमार श्रेष्ठले नयाँ प्रशासकीय अधिकृतको आगमनले नगरपालिकाको प्रशासनिक क्षमता अझ सबल र प्रभावकारी हुने विश्वास व्यक्त गरे। उनले जनप्रतिनिधि र प्रशासनबीचको सहकार्यले मात्र विकास र सेवा प्रवाहलाई सहज बनाउन सकिने उल्लेख गर्दै पोखरेललाई सफल कार्यकालको शुभकामना दिए।
त्यसैगरी, उप–प्रमुख मान्ती शाहले नगरपालिकामा आएका सेवाग्राहीलाई समयमै सेवा उपलब्ध गराउन प्रशासकीय अधिकृतले नेतृत्वदायी भूमिका खेल्ने अपेक्षा व्यक्त गरिन्। वडा अध्यक्षहरूले पनि आफ्नो–आफ्नो धारणा राख्दै नगरपालिकाको प्रशासनिक कामकाजलाई चुस्त, दुरुस्त र जनमैत्री बनाउन पोखरेलको योगदान महत्त्वपूर्ण हुनेमा विश्वास व्यक्त गरे।
नगरपालिकाको सरसफाइ शाखा प्रमुख सहेन्द्र यादवले हरियोपाटीसँग कुरा गर्दै पोखरेलले हाजिरीलगत्तै आफ्नो कार्यशैली प्रष्ट पारेको बताए। उनका अनुसार, पोखरेलले “जनताका कामलाई प्राथमिकता दिने, कानुनसम्मत तरिकाले मात्र काम अघि बढाउने र सेवाग्राहीलाई असुविधा नहुने” प्रतिबद्धता व्यक्त गरेका छन्।
नगरवासीले नयाँ प्रशासकीय अधिकृतको आगमनसँगै नगरपालिकाको सेवा प्रवाह अझ गतिशील, पारदर्शी र प्रभावकारी हुने अपेक्षा राखेका छन्।


















Discussion about this post