सिरहा, गोलबजार -सिरहाको गोलबजार नगरपालिकाले आज (संविधान दिवस) विभिन्न कार्यक्रमका गरि मनाएको छ। नगर प्रमुख श्याम कुमार श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा सरसफाइ प्रभातफेरी, अन्तरक्रिया कार्यक्रम गरि संविधान दिवस मनाइएको हो ।कार्यक्रममा गोलबजारका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
प्रमुख अतिथि मनोज कुमार सिंहले संविधान मास्ने खेल भइरहेको आरोप लगाए। उनले हालै सम्पन्न जेन-जि आन्दोलनमा ‘घुसपैठ’ भएको दाबी गर्दै गोलबजारमा देखिएको आगजनी जेन-जि नभई केही व्यक्तिहरूको स्वार्थपूर्ण गतिविधि भएको बताए। उनले यस्तो घटनामा संलग्नहरूलाई कानुनबमोजिम कडा कारबाही गर्नुपर्ने माग गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख श्याम कुमार श्रेष्ठले संविधान निर्माणमा हजारौँ नेपालीले बलिदानी दिएको स्मरण गर्दै संविधान ढुंगामा कोरिएको लकीर नभएको उल्लेख गर्दै जनताले चाहेमा संशोधन वा संबिधान खारेज गर्न सकिने स्पष्ट पारे। उनले जेन-जिको मागलाई जायज ठहर गर्दै नगरपालिकामा आगजनी जेन-जिले नभई व्यक्तिगत स्वार्थमा चल्ने समूहले गरेको बताए। आगजनी गर्नेहरूको पहिचान भइसकेको र चाँडै कानुनी दायरामा ल्याइने बताए ।
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का जिल्ला सचिव योगेन्द्र सिंहले कुनै पनि संविधान स्थायी नहुने बताउँदै आवश्यकताअनुसार संशोधन वा खारेज गर्न सकिने धारणा राखे। उनले जिल्लाभर तुलना गर्दा सबैभन्दा ठूलो क्षति गोलबजार नगरपालिकामा भएको भन्दै यो सामूहिक दुःख भएको उल्लेख गरे।
त्यस्तै वडा अध्यक्ष धनप्रदान लामाले वर्तमान संविधान जनताको हितअनुरूप रहेको भन्दै नयाँ पुस्ताद्वारा संचालित जेन-जि आन्दोलनलाई सकारात्मक बताउँदै धन्यवाद दिएका थिए।
Discussion about this post