सिरहा, भदौ ४ । खडेरीका कारण समयमै रोपाइँ गर्न नपाएका किसानलाई राहत स्वरूप गोलबजार नगरपालिका–२ निपनियामा ७० लाख रूपैयाँको लागतमा डिप बोरिङको व्यवस्था गरिएको छ। यससँगै १० हजार लिटर क्षमताको ठुलो पानी ट्याङ्की पनि निर्माण गरिएको छ, जसले किसानलाई आवश्यक पानी भण्डारण र आपूर्ति सहज बनाउन मद्दत गर्नेछ।
कमला सिँचाइ व्यवस्थापन कार्यालय, धनुषा पोर्ताहाका अनुसार नव–निर्मित डिप बोरिङबाट करिब ७० बिघा जमिनमा सिँचाइ सुविधा उपलब्ध हुने भएको छ। बुधबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको उक्त सेवाको उद्घाटन पूर्वमन्त्री लीलानाथ श्रेष्ठले गरेका हुन्।
उद्घाटन समारोहमा बोल्दै पूर्वमन्त्री श्रेष्ठले खडेरीको चपेटामा परेका किसानलाई राहत पुर्याउने उद्देश्यले नगरपालिकाले गरेको पहल सराहनीय भएको बताए। “सिँचाइ सुविधा पुगेपछि यहाँका किसान अब खेतीपातीमा निर्भर हुन सक्छन्, खाद्यान्न उत्पादनमा पनि वृद्धि हुने अपेक्षा गरिएको छ,” उनले भने।
सो अवसरमा गोलबजार नगरपालिकाका प्रमुख श्यामकुमार श्रेष्ठले हालसम्म नगरमा करिब छ वटा डिप बोरिङ खनिएको जानकारी दिए। उनले थप भने, “नगरपालिका भर सिँचाइ सुविधा विस्तार गर्नका लागि नगर सरकार निरन्तर प्रयासरत छ। खडेरीले प्रभावित क्षेत्रलाई प्राथमिकता दिएर आगामी दिनमा अझ बढी बोरिङ खन्ने योजनासमेत छ।”
कृषकहरूले डिप बोरिङ सञ्चालनमा आएपछि आफूहरूलाई खेती गर्न सहज हुने विश्वास व्यक्त गरेका छन्। उनीहरूका अनुसार, विगतमा वर्षामा मात्र भर परेर खेती गर्ने बाध्यता रहँदा समयमा रोपाइँ गर्न नपाउने र उत्पादन कम हुने समस्या खेप्नुपरेको थियो। अब भने खेतीपातीमा स्थायित्व आउने अपेक्षा गरिएको छ।
यसरी गोलबजार नगरपालिकाले सिँचाइ सुविधामा गरेको लगानीले निपनियाका किसानलाई मात्र नभई आसपासका कृषकलाई समेत ठूलो राहत दिलाउने विश्वास लिइएको छ।


















Discussion about this post