सिराहा, साउन २९ – सिराहाको नरहा गाउँपालिका–३, चोहर्वास्थित सिराहा पब्लिक स्कुलका संस्थापक राम प्रकाश यादवले ९ कक्षाका विद्यार्थी १४ वर्षीय अतिनेशकुमार यादवको अभिभावकसँग माफी माग्दै सम्पूर्ण उपचार खर्च व्यहोर्ने सहमति जनाएका छन्। यो सहमति जिल्ला प्रहरी कार्यालय सिरहामा लिखित रूपमा गरिएको हो।
गत साउन १९ गते साँझ विद्यालयको होस्टेलमा बसेका विद्यार्थी अतिनेशलाई खाना खानुअघिको प्रार्थना स्थल (रिङ) मा समयमा उपस्थित नभएको आरोपमा संस्थापक यादवले लाठी, जुत्ता र मुक्काले निर्घात कुटपिट गरेको आरोप छ।
कुटपिटबाट घाँटीमा गम्भीर चोट लागेका विद्यार्थीलाई विराटनगरस्थित न्युरो अस्पतालमा उपचार गरिएको छ। चिकित्सकका अनुसार एमआरआई रिपोर्टमा घाँटीको नसामा गम्भीर चोट देखिएको छ र भविष्यमा शल्यक्रिया गर्नुपर्ने सम्भावना छ।
पीडित विद्यार्थी सिराहा नगरपालिका–२२, हकपाडाका रामवृक्ष यादवका छोरा हुन्। उनी साउन १८ गते मात्रै सो विद्यालयमा भर्ना भएका थिए। विद्यार्थीहरूको भनाइअनुसार संस्थापक यादवले कुटपिट मात्र नभई कक्षाभित्र अस्लिल र अपमानजनक गाली–गलौज गर्ने गरेको आरोप छ।
नेपालको मुलुकी अपराध संहिता, २०७४ को दफा २२८ अनुसार कुनै व्यक्तिलाई जानी–जानी शारीरिक पीडा वा चोट पुर्याउने कार्य ‘कुटपिट अपराध’ मानिन्छ, जसमा सजायस्वरूप कैद वा जरिवाना, वा दुवै हुन सक्ने व्यवस्था छ। यस्तै, दफा ३०५ अनुसार बालबालिकामाथि हुने शारीरिक वा मानसिक यातना बालअधिकार उल्लंघन हो, जसमा थप कडा सजायको प्रावधान छ।


















Discussion about this post