सिरहा, साउन २३- सिरहाको गोलबजारमा प्रत्येक वर्षको श्रावण महिनामा लाग्दै आएको बोलबम मेला यस वर्ष गोलबजार नगरपालिका द्वारा थप व्यवस्थित गरिएको छ। विगतमा सडकपेटीमै लाग्दै आएको मेला यसपटक नगरपालिकाको निर्देशनमा व्यवस्थित स्थानमा सारिएको हो।
नगर प्रमुख श्याम कुमार श्रेष्ठका अनुसार, सडक दुर्घटना न्युनिकरण र बजार क्षेत्रलाई सुचारु राख्ने उद्देश्यले गोलचौकदेखि उत्तर र दक्षिणतर्फको क्षेत्र मेला लाग्ने स्थानका रूपमा तोकिएको छ। उनले मेलालाई सुरक्षित र सुव्यवस्थित बनाउन स्थानीयवासी र शिव भक्तहरूसँग सहकार्य गर्न अनुरोध समेत गरेका छन्।
सार्वजनिक स्थानमा भीडभाड हुँदा दुर्घटनाको सम्भावना बढ्छ, त्यसैले यसपालिको मेलालाई सुरक्षित र शान्तिपूर्ण बनाउन हामीले नगरस्तरीय तयारी अघि बढाएका छौँ,” नगर प्रमुख श्रेष्ठले बताए।
मेला शान्तिपूर्ण रूपमा सञ्चालन गर्न आज बिहानैदेखि नगर प्रहरी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको नगरपालिकाका सुपरभाइजर सहेन्द्र यादवले जानकारी दिए। सुरक्षा व्यवस्थासँगै मेलामा सहभागी भक्तजनहरूको सहजताका लागि आवश्यक पूर्वाधार तथा सेवा सुविधाहरू पनि उपलब्ध गराइएको छ।
मेलामा दैनिक सयौंको संख्यामा शिव भक्तहरू गोलबजार हुँदै दक्षिणतर्फ र्फको शिव मन्दिरतर्फ जाने गरेका छन्। नगरपालिका र सुरक्षा निकायको समन्वयमा यसपटकको बोलबम मेला सुव्यवस्थित र सुरक्षित रूपमा सम्पन्न हुने अपेक्षा गरिएको छ।
















Discussion about this post