विद्यालयमा पालेको खाताबाट ३ लाख चोरि

Picture of हरियो पाटी

हरियो पाटी

581
SHARES
796
VIEWS

ओम प्रकाश यादव

सिरहा, साउन ४ – सिरहाको गोलबजार नगरपालिका–८ स्थित श्री जनता नमूना माध्यमिक विद्यालय चोहर्वामा कार्यरत एक अपाङ्ग पालेको बैंक खाताबाट ३ लाख रुपैयाँ ठगी गरिएको घटना सार्वजनिक भएको छ। विद्यालयमा ज्यालादारीमा कामगर्ने गोलबजार नगरपालिका- ७ का ३६ वर्षय रामपुकार ठाकुरले पाले समरबहादुर श्रेष्ठको खाताबाट रकम चोरी गरेका छन ।

पीडित समरबहादुर श्रेष्ठ विद्यालयमा पालेका रूपमा कार्यरत छन्। उनी शारीरिक रूपमा अपाङ्ग छन् र डिजिटल सेवाको प्रयोग गर्न नसक्ने अवस्थामा छन । उनको मोबाइल बैंकिङको पहुँच नभएको र सामान्य स्मार्ट फोनसमेत चलाउन नजान्ने परिवारले जनाएको छ।

श्रेष्ठकी बहिनी कल्पना श्रेष्ठका अनुसार, समरबहादुरको खातामा उनकी पत्नीको मृत्यु पश्चात बीमा वापत जम्मा भएको ४ लाख रुपैयाँमध्ये ज्यालादारीमा कामगर्ने ठाकुरले ललाईफकाई तीन लाख रुपैयाँ चोरेको हो ।

म काठमाडौंबाट आएर स्टेटमेन्ट जाँच्दा मात्रै यो सबै थाहा भयो,” कल्पना श्रेष्ठले भनिन्, “मोबाइल बैंकिङको पासवर्ड लिएर पटक–पटक गरी ठाकुरले आफ्नै खातामा रकम सार्दै गएका रहेछन्।”

कल्पना श्रेष्ठका अनुसार ठाकुरले पीडित पालेलाई बैंकमा लगेर फर्म भराएर मोबाइल बैंकिङको सुविधा सुरु गरिदिएका थिए। त्यसपछि मोबाइल बैंकिङमार्फत रकम सारिएको हो। “जब मैले सोधपुछ थालेँ, सुरुमा त ठाकुरले इन्कार गरे। तर मिडिया र प्रहरी लाने चेतावनी दिएपछि उनले रकम फिर्ता गर्ने कबुल गर्दै मोबाइलमार्फत भौचर पठाए,” उनले भनिन्।

पीडित पक्षले ठाकुरमाथि धम्की दिएको आरोपसमेत लगाएको छ। “जागिरबाट हटाइदिन्छु,खुकुरीले काट्छु भनेर समेत धम्क्याएका थिए,” कल्पना श्रेष्ठले भनिन्, “विद्यालयजस्तो संस्थामा खुकुरीको धम्की दिनु ठुलो अपराध हो।”

उता,रामपुकार ठाकुरले रकम झिकिएको स्वीकार गर्दै सापटीका रूपमा लिएको र पछि बैंक खातामै फिर्ता गरिसकेको दाबी गरेका छन्। “श्रेष्ठको सहमतिमा रकम झिकिएको हो, अब सबै रकम फिर्ता गरिसकेको छु,” ठाकुरले भने।

तर, स्थानीयबासी र विद्यालयसम्बद्ध अन्य पक्षहरू भने घटनालाई गम्भीर रूपमा लिएका छन्। नेकपा बहुमतका जिल्ला सचिव कमरेड प्रवीणले विद्यालयमा लामो समयदेखि आर्थिक अनियमितता भइरहेको आरोप लगाउँदै भने, “विद्यालयमा बगलीमारहरूको भीड लागेको छ। कहिले शिक्षकको तलब हिनामिना त कहिले अपाङ्ग पालेको खातामा डिजिटल पाकेटमारी हुन्छ। यो सिधा–सोधा मानिसहरूमाथिको अत्याचार हो।”

घटना सार्वजनिक भइसक्दा पनि विद्यालय प्रशासनले हालसम्म कुनै कारबाही गरेको छैन। उल्टै ठाकुरलाई संरक्षण गरिएको स्थानीयको आरोप छ।

“एक अपाङ्ग कर्मचारीको खाताबाट रकम चोर्ने ठाकुर लाई उल्टै संरक्षण गरेर राख्नु लज्जास्पद कुरा हो,” स्थानीयवासी शिव यादव भन्छन्। उनका अनुसार विद्यालयका प्रधानाध्यापकले दोषी ठाकुर माथि कारबाही गर्नुको साटो गल्ती ढाकछोप गर्न खोजिरहेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित