भोजपुर — भोजपुरमा आफ्नै सासु, ससुरा, श्रीमती र सालोलाई छुरा प्रहार गरी हत्या गरेका अभियुक्तले आफैं प्रहरीलाई फोन गरेर प्रहरीलाई घट्ना बारे जानकारी दिएको खुलेको छ।
भोजपुर नगरपालिका–२ हेलौछा बस्ने राजेन्द्र राईले रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीस्थित ससुरालीमा शनिबार राति उक्त सामूहिक हत्या गरेका हुन्। राईले शनिबार राति सवा १ बजे प्रहरी कन्ट्रोल रुममा फोन गरेर ‘ममाथि चक्कु प्रहार भएकाले मैले मान्छे मारेँ, मलाई पक्राउ गर्न आउनुस्।’ भन्दै खबर गरेका थिए।
उनको फोनपछि अस्थायी प्रहरी चौकी ओख्रेबाट असई अशोक कुमार खवासको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो। प्रहरी टोली पुग्दा राईका ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, सासु मञ्जु गिरी, १६ वर्षीया श्रीमती र १० वर्षीय सालो मृत अवस्थामा फेला परेका थिए।
राजेन्द्र राईलाई रामप्रसाद राई गाउँपालिका–१ हर्बुभञ्ज्याङमा पेटमा चोट लागेर घाइते अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ। उनी जिल्ला अस्पताल भोजपुरमा उपचाररत छन्। प्रहरीले घटनास्थलमा धारिलो हतियार समेत बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर दीपक श्रेष्ठका अनुसार प्रारम्भिक बयानमा राईले शनिबार राति करिब ११ बजे सासुले आफूमाथि चक्कु प्रहार गरेपछि रिसमा आएर चार जनाको हत्या गरेको बताएका छन्।
राजेन्द्र राईले करिब एक वर्षअघि प्रेम विवाह गरेका थिए। हत्याको ठोस कारण र घटनाको सम्पूर्ण विवरणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
















Discussion about this post