सिरहा । प्रादेशिक अस्पताल सिरहामा चिकित्सकको लापरबाहीका कारण बालकको मृत्यु भएको आरोप लगाउँदै आफन्त र स्थानीयवासीले अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका छन्।
सिरहा नगरपालिका–६ बसबिट्टाका १० वर्षीय बालक राजन महराको उपचारको क्रममा मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले प्रदर्शन गर्दै सडक जाम गरेका हुन्।अहिले सिरहा सदरमुकाम र प्रादेशिक अस्पताल क्षेत्र तनावग्रस्त छ। भिड नियन्त्रणका लागि प्रहरीले एक राउन्ड हवाई फायर र चार राउन्ड अश्रुग्यास प्रहार गरेको छ।
आन्दोलनकारीले गरेको ढुंगामुढामा परी ९ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी वीरेन्द्र कुमार पासवानले जानकारी दिए। आन्दोलनकारी पक्षमा समेत दर्जनभन्दा बढी घाइते भएको खबर आए पनि यकिन संख्या खुल्न सकेको छैन।
मृतक बालक राजन महरा झल्कु महराका छोरा हुन्। उनलाई केही दिनदेखि ज्वरो आइरहेकाले प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याइएको थियो। अस्पताल पुर्याएपछि दूध र बिस्कुट खुवाएर सुई लगाइएपछि बालक चिच्याउन थाले र “आमा, आमा” भन्दै अन्तिम सास लिएको मृतककी ठूलीआमा सोभा महराले बताइन्। बालकको मृत्युको खबर सुनेपछि उनकी आमा बेहोस भएकी छिन् र अहिले अस्पतालमै उपचाररत छिन्।
दोषी चिकित्सक र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सोहेन्द्र प्रसाद यादवमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरिएको छ। चिकित्सकको लापरबाहीले बालकको ज्यान गएको आफन्तको आरोप छ।उपचारमा संलग्न चिकित्सक सुदेश कुमार यादवले बालकको अवस्था अत्यन्तै कमजोर रहेको र शरीरमा रगतको मात्रा धेरै कम रहेको बताए। उनका अनुसार तत्काल रगत आवश्यक पर्ने अवस्थामा बालक अस्पताल ल्याइएको थियो। तर अस्पताल परिसरमै रहेको रेडक्रसको ब्लड बैंकमा रगत अभाव भएको बताइएको छ।
सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादवले प्रादेशिक अस्पतालमा यस्ता घटना पटक–पटक दोहोरिइरहेकाले अध्यक्ष सोहेन्द्र यादवले राजीनामा दिनुपर्ने माग गरेका छन्।
प्रहरीले बालकको मृत्यु प्रकरणबारे अनुसन्धान भइरहेको जनाएको छ।




















Discussion about this post