सिरहा – गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठमाथि लागेको १२ करोडको बंगला उपहारसम्बन्धी आरोप असत्य भएको भन्दै श्रेष्ठ परिवारले त्यसको खण्डन गरेको छ। मेयरका छोरा सुमित श्रेष्ठले पत्रकार सम्मेलनमार्फत समाचार भ्रामक, आधारहीन र गलत रहेको दाबी गरेका छन्।
दवानल अनलाइनमा चैत्र ११ गते प्रकाशित समाचारमा मेयर श्रेष्ठले काठमाडौँको कुपण्डोलमा एक रोपनी क्षेत्रफलमा महँगो बंगला निर्माण गरेको दाबी गरेका थिए। साथै, समाचारमा श्रेष्ठको सम्पत्ति विवरण र आम्दानी स्रोतप्रति पनि प्रश्न उठाइएको थियो।
तर, पत्रकार सम्मेलनमा बोल्दै सुमित श्रेष्ठले उक्त समाचारमा कुनै सत्यता नरहेको जिकिर गरे। उनले भने, “समाचारमा उल्लेख गरिएको १२ करोडको भनिएको घर हाम्रो परिवारको होइन। त्यो घर कुपण्डोलमा नभई ललितपुरको चाकुपाटमा रहेको छ। हामी त्यस घरमा एउटा कार्यक्रममा सहभागी हुन पुगेका थियौँ, त्यही बेला खिचिएको तस्बिरलाई तोडमोड गरी गलत प्रचार गरिएको ।”
श्रेष्ठ परिवारले पत्रकारिताको मूल सिद्धान्तअनुसार प्रमाणका आधारमा समाचार सम्प्रेषण गर्नुपर्नेमा कुनै आधारबिना समाचार प्रकाशन गरेर जनतालाई भ्रमित पार्ने कार्य पत्रकारिताको नैतिकता विपरीत भएको स्पष्ट पारे।
श्रेष्ठ परिवारले दवानल अनलाइनमा पटक-पटक तथ्यहीन समाचार प्रकाशन गर्दै आएको आरोप लगाउँदै पत्रकार महासंघ र सम्बन्धित निकायसँग उक्त भ्रामक समाचारबारे आवश्यक छानबिन र कारबाहीको माग गरेको छ। साथै, दवानल अनलाइनविरुद्ध कानुनी प्रक्रिया अघि बढाउने तयारी भइरहेको श्रेष्ठ परिवारले जनाएको छ।


















Discussion about this post