सिरहा, गोलबजार – गोलबजार नगरपालिकाले गर्भवती महिलाहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै नि:शुल्क ग्रामीण अल्ट्रासाउंड सेवा सञ्चालनमा ल्याएको छ। मंगलबारदेखि सुरु गरिएको यो सेवाले नगरका विभिन्न वडाका गर्भवती महिलाहरूलाई प्रत्यक्ष रूपमा लाभ पुर्याउने विश्वास गरिएको छ।
नगरपालिकाले वडा नम्बर ९ बाट विशेष कार्यक्रमको आयोजना गरी औपचारिक रूपमा सेवा शुभारम्भ गरेको हो। उद्घाटन समारोहमा नगर प्रमुख श्याम कुमार श्रेष्ठ , उप–प्रमुख, मान्ती साह जनप्रतिनिधिहरू, स्वास्थ्यकर्मी तथा स्थानिय बासिन्दाहरूको उपस्थिति रहेको थियो।
नगर प्रमुख श्रेष्ठले उद्घाटन समारोहमा बोल्दै भने, “यो सेवा हाम्रो नगरका आमाहरूका लागि निकै उपयोगी हुनेछ। अब ग्रामीण क्षेत्रका गर्भवती महिलाहरूले निःशुल्क अल्ट्रासाउंड सेवा पाउनेछन्, जसले सुरक्षित मातृत्वलाई प्रवर्द्धन गर्नेछ।”
स्वास्थ्य शाखाका अनुसार यो सेवा नगरका अन्य वडाहरूमा पनि चरणबद्ध रूपमा विस्तार गरिनेछ। स्थानीय स्वास्थ्य संस्थाहरू र मोबाइल हेल्थ क्याम्पमार्फत अल्ट्रासाउंड सेवा प्रदान गरिने योजना बनाइएको छ।
यस सेवाले ग्रामीण भेगका गर्भवती महिलाहरूलाई गुणस्तरीय स्वास्थ्य परीक्षणको अवसर प्रदान गर्ने र मातृ तथा नवजात शिशु मृत्यु दर न्यूनीकरण गर्न मद्दत गर्ने अपेक्षा गरिएको स्वास्थ्य शाखा प्रमुख सरोज कुमार कर्नले जनाएको छ ।
Discussion about this post