मधेशी समुदायमा दशहरा र पहाडी समुदायमा दशैँ मनाउने शैलीमा केही कुरा फरक छन् भने केही कुरा समान पनि रहेका छन्।
तराईमा बडादशैँलाई दुर्गापूजा वा दशहरा भन्ने गरिन्छ।खासगरी ग्रामीण भेगका महिलाहरू घटस्थापनाको दिन बिहानै घर तथा आँगन गोबरले लिप्छन्।शहर बजारमा पनि घर सफा पारेर घटस्थापनाको तयारी गरिन्छ।
मधेशमा दशहराको तयारी करिब एक महिना अगावैदेखि हुन थाल्छ।दशहरा सुरु हुनुभन्दा एक दिन अगावै मध्यरातमा खासगरी घरका बालबालिकालाई दुष्ट प्रवृत्तिको प्रभावबाट जोगाउन भन्दै नाइटोमा कालो टीका लगाइदिने, घाँटीमा लसुन झुन्ड्याइदिने, आँखामा गाजल लगाइदिने र टोल-छिमेकमा हिँडडुल नगर्न सुझाव दिइने प्रचलन पहिलेको तुलनामा कम भए पनि अझै पाइन्छ।
त्यस्तै दशहरा सुरु भएको दिन घटस्थापनादेखि दश दिनसम्म विशेष रूपमा झिझिया नाच नाच्ने चलन रहेको छ।झिझिया घटस्थापनादेखि दशमीसम्म देखाइने लोकनृत्य हो।
तराईमा दशहराको अवसरमा खासगरी ग्रामीण भेगमा कतिपय स्थानमा देवस्थानको सामूहिक पूजा गर्ने परम्परा रहिआएको छ भने नजिकका शक्तिपीठ, देवस्थान तथा गाउँका मन्दिरहरूमा सामूहिक रूपमा जमरा राख्ने चलन रहेको छ।
त्यसैगरी ठाउँठाउँमा पण्डाल राखी माटोको प्रतिमा बनाएर दुर्गा पूजा गर्ने तथा मन्दिरमा जस्तै ती पण्डालमा पनि दर्शन गर्न जाने चलन छ।भाकल गरेकाहरूले विभिन्न जनावरको बलि समेत दिने गरेका छन्।शाकाहारीहरूले भने कुभिन्डो लगायतका तरकारी प्रसादको रूपमा चढाउने गरेका छन्।समग्रमा तराईमा दशहराका बेला हुने विभिन्न परम्परागत चलन यस्ता छन्:
कलश यात्रा
दशैँ अर्थात् दशहराको पहिलो दिन घटस्थापनाको अवसरमा तराईका प्राय: हरेक स्थानबाट कलश यात्रा निकालिन्छ।कलश यात्रामा विशेष रूपमा कन्या तथा गाउँघरका महिलाले जलाशयबाट घैँटामा जल भरेर, आँपको पल्लो, नरिवल, रातो कपडा बेरेको घैँटो टाउकोमा राखेर, देवी दुर्गाको मन्दिरमा कलश स्थापना गर्ने गरेका छन्।
प्रत्येक वर्ष दशैँमा देवीका शक्तिपिठहरूलाई बेहुलीझैँ सिगाँरिएको हुन्छ।घटस्थापनाको दिनलाई तराई मधेशमा ‘कलस्थापन’ पनि भनिन्छ।घटस्थापना गर्नुअघि कलश यात्रा निकाल्ने परम्परा समेत रहेको छ। यो विधिसँगै दुर्गा पूजाको आरम्भ हुने गर्छ।
झिझिया नृत्य
तराई मधेशमा दशैँ अर्थात् दशहरा सुरु भएसँगै झिझिया नृत्य पनि सुरु हुन्छ।दशैँको अन्तिम दिन वा पूर्णिमाको दिन यो नृत्य समाप्त हुने गर्छ।
पूर्णिमाको दिन झिझियाको विशेष पूजा हुन्छ।पानीमा विसर्जन गरेर त्यसलाई समापन गर्ने चलन छ।घैँटोमा धेरै प्वाल पारेर त्यसमा दियो राखी टाउकोमा राखेर महिलाहरूले दैनिक जसो नृत्य गर्ने गर्छन्।नृत्य गर्ने महिलाहरूले खासगरी आसुरी शक्तिलाई गाली गर्ने, विरोध गर्ने गर्छन्।
तराईका देवी मन्दिरको परिसरमा दलित भनिने समुदायका महिलाहरू मन्दिरको परिक्रमा गर्दै भगवतीलाई खुसी पार्न आफूले लगाएको साडीको आँचलले मन्दिर परिसर बढार्ने गरेको दृश्य पनि देखिन्छ।
खोइच भर्ने चलन
विशेषगरी दुर्गा भगवतीको पूजा आराधना हुने यस पर्वमा विभिन्न शक्तिपीठहरूमा भक्तजनको घुइँचो लाग्छ।अरू दिनभन्दा फूलपातीको दिन तराईका महिलाहरूका लागि विशेष हुने गरेको उनीहरू बताउँछन्।
आश्विन शुक्ल सप्तमीमा शक्तिपीठमा फूलपाती भित्र्याइन्छ।फूलपातीको दिन नौ पातमा क्रमशः ब्रह्मायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहरिणी र कात्तिकी देवीलाई आह्वान गरेर मन्दिरमा गएर पूजा गरिन्छ।मधेशमा फूलपातीकै दिन दुर्गा भवानीलाई खोइच भर्ने परम्पराको पनि आफ्नै विशिष्ट महत्त्व छ।
फूलपाती भित्र्याईसकेपछि बिहानदेखि अबेर रातिसम्म तराईका जिल्लाका मन्दिरहरूमा तराईका मात्र नभइ भारतका विभिन्न ठाउँबाट पनि आउने भक्तजनहरूको खोइच भर्नका लागि घुइँचो लाग्ने गर्छ।मधेशी समुदायका महिलाहरूले भर्ने खोइच देवी दुर्गाको मुख्य ‘चढावत’ भएको मानिन्छ।
देवीलाई खोइच भरेपछि सबै मनोकामना पूरा हुने, देवीको दरबारबाट कोही खाली हात फर्किनु नपर्ने विश्वास भक्तजनहरूको छ।खोइच भर्ने दिन विभिन्न मिष्ठान्न र सामग्री देवीलाई अर्पण गर्ने चलन रहेको वीरगञ्ज श्रीपुर निवासी भाग्यमनी देवी बताउँछिन्।खोइचको परापूर्वकालदेखि नै विशेष महत्त्व रहेको संस्कृतविद उमाशंकर द्विवेदीले बताए।
नेटुवा नाच
तराईको दशहरा मेलामा नेटुवा नाच पनि गरिन्छ।नेटुवा नाच गराउँदा विभिन्न समस्या समाधान हुने, चिताएको पूरा हुने ,घर परिवारमा खुसीको खबर सुन्न पाइने, रोग व्याधिबाट मुक्ति पाइने धार्मिक मान्यता तथा आस्था रहिआएको छ।
टीका र जमरा
मधेसी समुदायमा टीका तथा जमरा लगाउने कार्य मन्दिरमा राखिएको जमराबाट पुजारीले भक्तजनलाई आशीर्वादको रूपमा लगाइने चलन रहे पनि अचेल पहाडी समुदायमा जस्तै घरमै परिवारका सदस्यले अन्य सदस्यलाई टीका जमरा लगाइदिने प्रचलन बढेको पाइन्छ।
त्यस्तै मधेशी समुदायका महिलाहरूले जस्तै पहाडी समुदायका महिलाहरूले पनि खोइच भर्ने कार्य गर्दै आएका छन्।
पण्डालमा दुर्गा प्रतिमा
दुर्गा भगवतीको माटोको मूर्तिलाई विभिन्न ठाउँमा पण्डाल बनाइ स्थापना गरिएको हुन्छ।पण्डालसहित दुर्गा भगवतीको आकर्षक मूर्तिलाई भव्य रूपमा लाखौँ खर्च गरी सजाइन्छ।दशैँ आउनुभन्दा केही महिना अघिदेखि नै माटोको मूर्ति बनाउने कलाकारलाई भ्याइनभ्याइ हुने गर्छ।
पण्डालमा दैनिक रूपमा भक्तजन दर्शन गर्न पुग्ने गरेका छन् र भजन कीर्तनमा सामेल हुने गरेका छन्।दुर्गा भगवतीलाई स्थापित गर्न घटस्थापनामा कलश यात्रा निकालिएको जस्तै विसर्जन गर्ने दिन पनि विशेष जात्रा निकालेर माटोले बनाइएका देवीको मूर्ति नदीमा लगेर विसर्जन गर्ने गरिन्छ।
विशेष मेला
यो बेला विभिन्न धार्मिक स्थल तथा शक्ति पीठहरूमा ठूलो मेला लाग्ने गरेको छ।मेलालाई सबै उमेर समूहका मानिसहरूले मनोरञ्जनको रूपमा लिने गरेका छन्।मेलामा नाचगान तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएका हुन्छन्।
अरू दिनको तुलनामा सप्तमीको दिन र दशमीको दिन नेपाल लगायत भारतीय सिमावर्ती क्षेत्रबाट पनि मानिसहरू मेला घुम्न आउने गरेका छन्।मेलामा विभिन्न खेलको आयोजना गरिएका हुन्छन्।
विभिन्न स्थानमा कुस्ती प्रतियोगिता आयोजना हुने गरेको छ।जसमा नेपाल लगायत भारतका कुस्ती खेलाडीहरू सहभागी हुने गरेका छन्। त्यसलाई जसलाई दङ्गल भन्ने गरिएको छ।
हरेक दिन विशेष पूजा आराधना
दशैँको पहिलो दिन अर्थात् घटस्थापनाको दिन कलश पूजा गरी जलाशयबाट कलशमा जल भरेर मन्दिरमा सामूहिक रूपमा महिलाहरूले ल्याएपछि देवीसँगै कलशको पनि हरेक दिन पूजा हुने गर्छ।घटस्थापनाको दिनदेखि मूर्ति स्थापना गरिए पनि मूर्तिको आँखा भने छोपेर राखिएको हुन्छ। सप्तमीको दिनमा मूर्तिको आँखा खोलिने चलन रहेको छ।
दुर्गा भगवतीको आँखा खोलेको भोलिपल्टदेखि देवीलाई बलि दिने चलन रहेको छ।भक्तजनहरूले भाकल गरे अनुसार खसी, बोका, राँगा, परेवा, हाँस तथा शाकाहारी बलि दिइन्छ।नवमी अर्थात् नवौँ दिन दुर्गा भगवतीको पूजापाठ तथा आरती हुन्छ।
विजयादशमीको दिन दुर्गा भगतवतीका साथै सबै देवीदेवताको विसर्जन पूजा गर्ने चलन रहेको छ।त्यो दिन दुर्गा भवगतीलाई बिदाइ गरिन्छ तथा त्यस दिन शुभ मानिने हुँदा चेलीबेटी भित्र्याउने र पठाउने वा कतै जाने-आउने कार्यका लागि शुभ मानिने चलन छ।भाकल गरेकाहरू भने नवरात्रिको ९ दिनसम्म व्रत बस्ने परम्परा समेत रहेको छ।
वर्तालुहरूले नवौँ दिन कन्यालाई पूजा गरेर भोजन गराउने परम्परा रहेको छ। जसलाई ‘कुमारी भोजन भनिन्छ।दशमीको दिन माछामासु लगायत खानेकुराहरू खान मिल्ने भएको र देवीको आँखा पनि खोलिने भएकोले मानिसहरू अबेर रातिसम्म विभिन्न स्थानका पण्डालहरूमा गइ देवी दर्शनसहित परिवारका सदस्य , साथीभाइका साथमा घुम्ने समेत गरेका छन्।
Discussion about this post