बद्री नारायण यादव
सिरहा, १७ असोज । लागुऔषधको बढ्दो प्रयोग नियन्त्रणका लागि औरही गाउँपालिकाले अभियान आरम्भ गरेको छ । अभियानको पहिलो चरण अन्तर्गत ‘लागु पदार्थको लतले बालबालिकाहरुमा हुने हानी र रोकथामका उपायहरुको खोज’ विषयक कार्यक्रमको आयोजना गर्दै सिरहाको सत्रवटै स्थानीय तहसँग छलफल तथा सुझाव लिएका छन् ।
लागुऔषधको लतले एक जटिल रुप लिन थालेको भन्दै यस्ता जटिलतालाई दुर गर्न सबैतहले नियन्त्रणकारी भुमिका निर्वाह गर्नुपर्ने आवश्यक रहेको धनगढीमाई नगरपालिकाका नगरप्रमुख शिवशंकर महतोले बताए ।
सुविधायुक्त भवन, व्यवस्थित सडक संजाल तथा अन्य सुविधासँगै मानव स्वास्थ्य महत्वपूर्ण रहेको औंल्याउदै उनले भने,‘लागुऔषध नियन्त्रणलाई संस्कारसँग जोडेर कानूनी कडी प्रयोग गर्दै अघि बढ्नुपर्ने हुन्छ ।’
लागुऔषधको प्रयोग नियन्त्रण गरिने भने आउने दिनमा बन्दर स्वरुपमा व्यक्तिहरु परिणत हुने दाबी गर्दै नवराजपुर गाउँपालिकाका अध्यक्ष शिवउदगार यादवले भने,‘लागुऔषधको प्रयोग नियन्त्रण गर्न ढिला नगरी सबैले आ–आफ्ने तवरबाट नियन्त्रणकारी भुमिकामा उत्रिनुपर्ने हुन्छ ।’
‘कम्प्युटर अपरेटरका लागि लिएको सबै परिक्षामा एक जना ६२ प्रतिशत अंक ल्याएर उत्कृष्ट भएको छ तर बुझ्दै जाँदा सो व्यक्ति लागुऔषध प्रयोगकर्ता रहेछ भन्ने कुरा खुल्यो,’नरहा गाउँपालिकाका अध्यक्ष रामप्रमोद यादवले भने,‘लागुऔषध प्रयोगकर्तालाई नियुक्ति कसरी गर्ने भन्ने जटिलता उत्पन्न भएको छ ।’ उनका अनुसार यसरी नै उर्जावान युवा शक्ति लागुऔषधको लतमा चौपट हुन थालेको छ ।
लागुऔषध प्रयोगको लत लागेपछि सहज रुपमा नछोड्ने गरेको विभिन्न घटनाक्रमले देखाएकोले सबै स्थानीय तह एकसाथ नियन्त्रणकारी क्रियाकलाप चलाउनुपर्ने खाँचो रहेको अर्नमा गाउँपालिकाकी उपाध्यक्ष शोभा कुमारी साहले बताइन् ।
बढ्दो लागुऔषधको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पार्दै भयावह रुपमा लिन थालेको अनूभुति गरेको त्यस विरुद्ध नियन्त्रणकारी अभियान थालेको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादवले बताए । लागुऔषधले विषेश गरी युवा र बालबालिकामा असर पार्न थालेको उनले प्रष्ट पार्दै भने,‘प्रयोगकर्ताले गैर प्रयोगकर्तालाई पनि सवारी दुर्घटनामा ज्यान लिएको विभिन्न घटनाक्रमले देखाएको छन् ।’
लागुऔषध प्रयोगकर्ताको बानी, व्यवहार र अन्य क्रियाकलापको असरले कोँही शान्तिसँग बाँच्न सक्ने अवस्था नरहेको उनले तर्क गरे । लागुऔषध नियन्त्रणका लागि कानूनी र व्यवहारिक दुबै दृष्टिबाट अगाडि बढ्नुपर्ने खाँचो रहेको उनले सुझाव राखे । चरणगत रुपमा विभिन्न तह, क्षेत्र र भेगका सरोकारवालासँग समन्वय गर्दै अन्तरदेशिय रुपमा समेत छलफल चलाउने उनको दाबी छ ।
स्थानीय तह, राजनीतिक दल, गैरसरकारी संघ संस्थासँगै सरोकारवालाहरुको संयुक्त प्रयास र प्रतिबद्धता अनुसार लागुऔषधको बढ्दो प्रयोग नियन्त्रणकारी क्रियाकलाप गर्नुपर्ने कार्यक्रमका सहभागीहरुले निष्कर्ष निकालेका छन् । जिल्लाको विभिन्न ठाउँमा सुधार केन्द्र स्थापना गर्नुपर्ने छलफल चल्यो ।
वक्तहरुका अनुसार लागुऔषधको प्रयोग नियन्त्रणका सवाललाई अन्य विषयसँग जोडेर नियन्त्रणकारी क्रियाकलाप चलाउनुपर्ने हुन्छ ।
कार्यक्रममा विष्णुपुर गाउँपालिकाका अध्यक्ष सत्यनारायण यादव, लहान नगरपालिकाका उपमेयर राम चरित्र महतो, गोलबजार नगरपालिकाकी उपमेयर मानति साह,
कल्याणपुर नगरपालिकाकी उपमेयर रेखा कुमारी यादव, औरही गाउँपालिकाकी उपाध्यक्ष रेणु कुमारी यादव लगायतले लागुऔषधको प्रयोग नियन्त्रण गर्न अगामी कार्यनितिबारे आ–आफ्नो विचार व्यक्त गरेका थिए भने औरही गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत उदित्य कुमार कर्णले कार्यक्रममाथि प्रकाश पारेको थियो ।
















Discussion about this post