काठमाडौं । अब होटेल, रेस्टुरेन्ट र बारमा विद्युतीय माध्यमबाट भुक्तानी गर्ने ग्राहकहरूले १० प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता पाउने भएका छन् । विद्युतीय माध्यमबाट गरिने भुक्तानीलाई प्रोत्साहन गर्न आन्तरिक राजस्व विभागले मूल्य अभिवृद्धि कर ऐनले गरेको व्यवस्था अनुसार यस्तो सुविधा दिने भएको हो ।
विभागले आइतबार एक सूचना प्रकाशित गर्दै उपभोक्ताले तिरेको भ्याटको १० प्रतिशत फिर्ता हुने सेवाहरूको सूची समेत सार्वजनिक गरेको छ । जसअनुसार मदिरा पिउने बार, चमेनागृह तथा रेस्टुरेन्ट, होटेल, मोटेल, लज, गेस्ट हाउसबाट प्रदान गरिने सेवाको भुक्तानीमा यस्तो सुविधा पाउन सकिनेछ ।
विभागको २०८१/०५/२१ को निर्णयअनुसार देहाय बमोजिमका सेवा खरिदमा उपभोक्तालाई त्यस्तो खरिद मूल्य प्रचलित कानुन बमोजिम विद्युतीय माध्यमबाट भुक्तानी गरेमा निजलाई नगद प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको १० प्रतिशत रकम फिर्ता दिने निर्णय भएकोले सम्बन्धित सरोकारवाला सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,” विभागले भनेको छ । उक्त व्यवस्था कार्यान्वयनमा सहभागी हुनका लागि आम उपभोक्ता, व्यवसायी तथा सरोकारवाला सबैलाई आग्रह समेत गरिएको छ ।
यसका लागि केही सर्त समेत तोकिएका छन् । जसमा भ्याटमा दर्ता भई विभागबाट स्वीकृत विद्युतीय बिजक जारी गर्ने करदाता विभागको प्रणालीमा आबद्ध भएको हुनु पर्छ । क्रेडिट तथा डेबिट कार्ड, क्यूआर कोड, मोबाइल बैंकिङ जस्ता विद्युतीय भुक्तानीका माध्यमबाट भुक्तानी प्राप्त गर्ने विक्रेताले भ्याटको १० प्रतिशत रकम ग्राहकको बैंक खातामा स्वचालित रूपमा फिर्ता गर्ने व्यवस्था मिलाउनु पर्ने हुन्छ ।
साथै विद्युतीय बीजक सम्बन्धी कार्यविधि बमोजिम विभागमा सूचीकृत भएका विद्युतीय उपकरण तथा सफ्टवेयर आपूर्तिकर्ताले कार्यविधि बमोजिम प्रणालीमा सामञ्जस्य हुने गरी आफ्नो सफ्टवेयर परिमार्जन गर्न समेत विभागले जानकारी गराएको छ ।
विभागले विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्तालाई भ्याट फिर्ता दिने सम्बन्धी कार्यप्रक्रिया २०७६ बमोजिम प्रणाली परिमार्जन गरी यस कार्यमा सहजीकरण गर्न बैंक, भुक्तानी सेवा सञ्चालक तथा सेवा प्रदायकलाई समेत सूचीत गराएको छ ।
विद्युतीय भुक्तानीमा भ्याट फिर्ता सम्बन्धी सेवा उपलब्ध रहेको विषयमा विक्रेताले आफ्नो कारोबार स्थलमा सूचना सार्वजनिक गर्नुपर्ने व्यवस्था समेत विभागले गरेको छ ।
मूल्य अभिवृद्धि कर ऐनमा कुनै उपभोक्ताले विभागले सूचना प्रकाशन गरी निर्धारण गरेका वस्तु तथा सेवा खरिद गर्दा त्यस्तो खरिदको मूल्य प्रचलित कानुन बमोजिम विद्युतीय माध्यमबाट भुक्तानी गरेमा नगद प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको दश प्रतिशत रकम फिर्ता गर्ने व्यवस्था छ । ऐनले यस किसिमको व्यवस्था गरेको लामो समयपछि विभागले सो सम्बन्धी सूचना प्रकाशन गरेको हो ।
Discussion about this post