जेठ २० सिरहा – सिराहाको लहान नगरपालिका– ३ स्थित लहान एडभान्स हस्पिटलमा सुत्केरीको मृत्युपछि अस्पताल नै बन्द गरेर सञ्चालक डा. वीरेन्द्रकुमार यादव सम्पर्कविहीन भएका छन् । १६ जेठमा सोही अस्पतालमा शल्यक्रिया गरी पहिलो सन्तानका रूपमा छोरी जन्माएकी भगवानपुर गाउँपालिका– ५ इनर्वा गाउँकी करिब २५ वर्षीया सञ्जुकुमारी यादवको शनिबार दिउँसो मृत्यु भएपछि आफन्तले नाराबाजी गरेका थिए ।
सञ्जुका आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको आरोप लगाउँदै अस्पताल र सञ्चालकलाई कारबाही हुनुपर्ने मागसहित राति अबेरसम्म शव बुझेनन् । प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल पठाउन्जेलसम्म मृतकका आफन्तले अस्पताल र सञ्चालकमाथि कारबाहीको माग गरिरहेका थिए ।
पोस्टमार्टमपछि धेरै विषय खुल्ने भएकाले त्यतिवेलासम्म धैर्य गर्न प्रहरीले गरेको अनुरोधपछि शव अस्पताल पठाइएको थियो । मृतकका आफन्तले इलाका प्रहरी कार्यालय लहानमा ‘भवितव्यले मृत्यु भएको’ भन्ने व्यहोराको जाहेरी ल्याएको प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले बताए । प्रादेशिक अस्पताल प्रशासनले भने लापरबाहीले मृत्यु भएको भनिएको व्यक्ति २४ घण्टा नबित्दै आफन्तले भवितव्यले ज्यान गएको भन्न थालेपछि सुत्केरीको मृत्यु लापरबाही वा अन्य कारणले भएको भन्ने यकिन गर्न फरेन्सिक विज्ञमार्फत पोस्टमार्टम गराउन आइतबार साँझ
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउन लागिएको जनाएको छ । ‘हाम्रो अस्पतालमा तालिम लिएका व्यक्तिले मात्र पोस्टमार्टम गर्छन्,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनील कुसवाहले भने, ‘त्यसैले मृत्युको यकिन कारण पत्ता लगाउन फरेन्सिक विज्ञ भएको ठाउँमा पठाउन सिफारिस गरेका हौँ ।’ स्थानीयले डा. यादवले सञ्चालन गरेको लहान एडभान्स हस्पिटल सरकारी निकायमा दर्तासमेत नभएको बताउने गरेका छन् ।
यस्तो थियो घटना
सुत्केरी बेथाले च्यापेपछि १६ जेठमा एडभान्समा भर्ना गरिएकी सञ्जुको गर्भको शिशुको मुटुको धड्कन कम रहेको भन्दै चिकित्सकले शल्यक्रिया गर्न भनेपछि आफूहरू त्यसका लागि तयार भएको र शल्यक्रियामार्फत नातिनी जन्मिएको आमा शुभकला यादवले बताइन् । उनका अनुसार शनिबार बिहान करिब ११ बजेतिर जाउलो खाएकी सञ्जुले छाती र पेट दुख्यो भन्न थालेपछि एडभान्सका स्वास्थ्यकर्मीले जाँचका लागि भन्दै सिरिन्जमार्फत रगत निकालेर उनलाई भिडियो एक्सरेका लागि प्रादेशिक अस्पताल पठाएका थिए । ‘त्यहाँबाट फर्काएर एडभान्समा ल्याउँदासम्म सामान्य बोल्दै गरेकी छोरीको आँखाको परेला झिमझिमाउने, रिँगटा लाग्यो भन्न थालिन्,’ उनले भनिन्, ‘स्वास्थ्यकर्मीले भित्र पुर्याए पनि तत्काल बाहिर लैजानुपर्छ भन्दै एम्बुलेन्समा चढाउँदा–चढाउँदै छोरीको ज्यान गइसकेछ ।’
उनले भनिन्, ‘स्वास्थ्यकर्मीले भित्र पुर्याए पनि तत्काल बाहिर लैजानुपर्छ भन्दै एम्बुलेन्समा चढाउँदा–चढाउँदै छोरीको ज्यान गइसकेछ ।’
१६ जेठमा भर्ना भएपछि शल्यक्रियासहित उपचार खर्चमा एक लाख दुई हजार एक सय रुपैयाँ लाग्छ भनेपछि बीचबीचमा केही रकम दिएकाले बाँकी रकमको जोहो गर्न निस्किएका वेला घटना भएको मृतकका श्रीमान् रञ्जित यादवले बताए । आमाको मृत्यु भएपछि शिशुलाई सप्तरीको सुरुंगा– ५ कदमाहास्थित जिनिस हस्पिटलमा राखिएको परिवारजनले जनाएको छ । सुत्केरीको मृत्यु भएलगत्तै विरोधमा उत्रिएका आफन्तलाई शिशुको नाममा अस्पताल सञ्चालकले आठ लाख रुपैयाँ दिएर थामथुम गरेको स्रोतले बतायो ।
पूर्व–पश्चिम लोकमार्गसँगै जोडिएका लहान– ३ अस्पताल चोक क्षेत्रमा करिब आधा दर्जन निजी स्वास्थ्य संस्था खुलेका छन्, जसले उपचारका नाममा बिरामीको जीवनमाथि नै खेलबाड गरिरहेको नेपाल मानव अधिकार संगठनका सिराहाका अध्यक्ष राजकुमार राउत कुर्मी बताउँछन् । ‘उपचारका नाममा लापरबाही गरी मान्छे मर्दासमेत त्यस्ता स्वास्थ्य संस्थाविरुद्ध कानुनी कारबाही नहुँदा सञ्चालकहरू हैसिएका छन्,’ उनले भने, ‘विभिन्न ठाउँमा अवैध ढंगले सञ्चालित निजी स्वास्थ्य संस्थाले स्वास्थ्य सहायकस्तरका स्वास्थ्यकर्मी राखी ठुल्ठूला बोर्ड झुन्ड्याएर एमर्जेन्सी सेवा, डिजिटल एक्सरे, प्रयोगशाला, विशेषज्ञ सेवाको नाममा अप्ठ्यारोमा रहेका बिरामी र आफन्तलाई ठगिरहेका छन् ।’
Discussion about this post