प्रकाश ज्वालालाई फिर्ता बोलाउनेबारे आन्तरिक छलफलमा एकीकृत समाजवादी

हरियो पाटी

हरियो पाटी

512
SHARES
701
VIEWS

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का नेता समेत रहेका भौतिक योजना तथा निर्माण मन्त्री प्रकाश ज्वालालाई फिर्ता बोलाउने कि नबोलाउने भन्नेबारे सो पार्टीभित्र आन्तरिक छलफल सुरु भएको छ । बालकुमारी घटनामा मन्त्री ज्वाला नै दोषी ठहर भएपछि उनको चौतर्फी आलोचना र राजीनामा माग भएको छ ।

गत पुस १३ गते दुई जनाको मृत्यु हुने गरी भएको बालकुमारी घटना जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले मन्त्री ज्वालासहित तीन जनालाई दोषी ठहर गरेपछि पार्टीभित्र मन्त्री ज्वालाबारे आन्तरिक छलफल सुरु भएको हो ।

आइतबारको प्रतिनिधि सभा बैठकमा समेत प्रतिपक्षका सांसदहरूले मन्त्री ज्वालाको राजीनामा र कारबाहीको माग गरेपछि एकीकृत समाजवादी थप दबाबमा परेको छ ।

तर सो पार्टीले अहिले नै मन्त्री ज्वालाबारे केही निर्णय गरिनसकेको जनाएको छ । ‘अहिले केही निर्णय भएको छैन । हामी आन्तरिक छलफलमा छौ’, ज्वालामाथि राजीनामाको चौतर्फी दबाब छ पार्टीले के गर्दै छ ? भन्ने रातोपाटीको प्रश्नमा उपाध्यक्ष प्रमेश हमालले भने, ‘हामी छलफलमा छौ तर पहिला आयोगको रिपोर्ट हेर्छौँ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि बालकुमारी घटनामा जोडिएका मन्त्री ज्वालाबारे जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरेर थप कारबाही प्रक्रिया अघि बढाउने बताएका छन् ।

‘मेरै प्रस्तावमा छानबिन समिति बनेको हो । छानबिन समितिले प्रतिवेदन दिएको छ, तर मैले हेर्न पाएको छैन । आजै मैले प्रतिवेदन बुझ्दै छु र क्याबिनेट पनि आजै छ’, प्रचण्डले संसदमा बालकुमारी घटनाबारे जवाफ दिँदै भने, ‘अध्ययन गरेपछि आवश्यक कारबाही गरिन्छ ।’

गत ४ फागुनमा पूर्व न्यायाधीश शेखर पौडेल नेतृत्वको जाँचबुझ आयोगले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई शुक्रवार प्रतिवेदन बुझाएको थियो । आयोगको प्रतिवेदनमा प्रधानमन्त्रीले प्रकाश ज्वालाबारे आवश्यक निर्णय लिन सक्ने जनाइएको छ ।

‘उहाँ (भौतिक मन्त्री ) ज्वालाले नैतिक रूपमा घटनाको जिम्मेवारी लिनुपर्छ तर नैतिक  जिम्मेवारी लिएको देखिएन । भौतिक मन्त्री ज्वालाबारे प्रधानमन्त्रीले आवश्यक निर्णय लिन सक्नुहुनेछ’, प्रतिवेदनमा भनिएको छ । बालकुमारी घटनामा सजन राउत र वीरेन्द्र साहको मृत्यु हुनुका साथै मन्त्री ज्वालको गाडी जलाइएको थियो । पुस १३ मा बालकुमारीमा ईपीएस परीक्षा फाराम भर्ने क्रममा युवाहरूले आन्दोलन चर्काइरहेका बेला मन्त्री ज्वाला परिस्थितिको आकलन नै नगरी सोही बाटो हुँदै झन्डा हल्लाएर यात्रारत थिए । त्यस क्रममा आन्दोलनकारीसँग विवाद भएपछि परिस्थिति भड्किन पुगेको थियो । तर, मन्त्री ज्वालाले घटना हुँदा आफू त्यहाँ नभएको भनेर ‘झूटो’ अभिव्यक्ति दिइरहेका थिए । पार्टीको बैठकमा आफूलाई छाडेर चालक फर्किरहेका बेला आन्दोलनकारीले अकस्मात् गाडी जलाइएको दाबी उनले रातोपाटीसँगको कुराकानीमा बताएका थिए । घटनापछि सरकारले पीडित परिवारलाई दश लाख क्षतिपूर्ति र परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गर्नुका साथै जाँचबुझ आयोग गठन गरेर प्रतिवेदन पेस गर्न भनेको थियो ।

घटना भएको यतिका दिनसम्म हुँदा पनि मन्त्री ज्वाला भने आफ्नो कमजोरी स्विकार्नु र नैतिकताका आधारमा राजीनामा दिनुको साटो पदमै बहाल छन् । मन्त्री ज्वालाले नैतिकताका आधारमा राजीनामा नगर्दा प्रधानमन्त्री समेत प्रश्नको कठघरामा उभिन पुगेका छन् । यस्तो अवस्थामा प्रधानमन्त्रीले बर्खास्त गर्नु अघि नै मन्त्री ज्वाला आफैले राजीनामा दिए थोरै भए पनि उनको नैतिकता बच्ने चर्चा राजनीतिक वृत्तमा चलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
Advertisements
Single Page - Sidebar 1