सिरहा पुस ४ । सिरहा अवैध ढुंगा, गिट्टी, बालुवा उत्खननमा संलग्न प्रमुख प्रशासकीय अधिकृतसहित १८ जनाविरुद्ध वन डिभिजन कार्यालय लहानले बुधबार जिल्ला अदालत सिरहामा मुद्दा दर्ता गरेको छ।
गत मंसिर १५ गते वन कार्यालयले सिरहाको धनगढीमाई नगरपालिका अन्तर्गत सर्रे खोलामा अवैध उत्खननमा संलग्न ८ जनासहित एक थान एक्स्काभेटर र ७ थान ट्याक्टर नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानको क्रममा ठेक्का लगाउने प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश महतो, प्रशासक शाखाका सहायक रञ्जितकुमार सिंहलाई पटक पटक हाजिर हुन आउन पत्राचार गरे पनि फरार रहँदै आएको अनुसन्धान अधिकृत मनोजकुमार कर्णले बताए। दायर मुद्दामा १८ जना प्रतिवादी छन्। जसमा ८ जना पक्राउ परिसकेका छन्। बाकी ठेकेदार पक्षका निलमकुमारी यादवसहित सवारी धनी छन्।
सिरहा जिल्लाको धनगढीमाई नगरपालिका–१२ स्थित सर्रे खोलामा अवैध रुपमा नदीजन्य सामग्री उत्खनन गरि लैजाँदै गरेको अवस्थामा डिभिजन वन कार्यालय लहानले एउटा एक्स्काभेटर र ७ वटा ट्याक्टरसहित चालकहरुलाई पक्राउ गरेको थियो।
जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेशकुमार महतोको नेतृत्वमा डिभिजन वन कार्यालय प्रमुख सुजितकुमार झासहितको अनुगमन टोलीले सर्रे खोलाबाट अवैध उत्खनन गरिरहेको अवस्थामा नियन्त्रणमा लिन खोज्दा भाग्दै गरेको अवस्थामा उपकरणसहित नियन्त्रणमा लिएको डिभिजन वनले जनाएको छ।
वातावरणीय प्रारम्भिक प्रभाव मूल्याङ्कन (आइई) नै नगरिएको नदीबाट अवैध ढंगबाट नदीजन्य सामग्री उत्खनन गर्ने कार्य गरेकोले ती सवारी साधनहरू नियन्त्रणमा लिइएको वन डिभिजनले जनाएको छ।
अवैध उत्खननमा संलग्न प्रमुख प्रशासकीय अधिकृतसहित यती धेरै मानिसमाथि मुद्दा चलाइएको डिभिजन वन कार्यालयको रेकर्डमा यो पहिलो घटना हो। पछिल्लो समय सिरहा जिल्लामा वातावरणीय प्रभाव मूल्याङ्कन नै नगरी स्थानीय तहहरुले खोला नदीबाट नदीजन्य सामग्री निकाल्ने ठेक्का लगाउने गरेको छ।
लहान नगरपालिकाले पनि यही कार्य गरेको छ। आइई नै नगरी ठेक्का लगाएको र अवैध उत्खनन गराएको मुद्दामा लहान नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुभद्रा गौतमसहित चिनिया नागरिक र दुई जना एक्स्काभेटर चालकमाथि वन डिभिजन कार्यालयले अनुसन्धान गरिरहेको छ।
Discussion about this post