मंसिर २७ सिरहा । सिरहा नगरपालिकाकाे पटेहर्वा निवासी रामशिष यादवको आज निधन भएको छ । मधेसको चिरपरिचित व्यक्तित्व स्वर्गीय यादवले रामराजा प्रसाद सिंह नेतृत्वको नव जनवादी मोर्चामा संगठित भै गणतन्त्र स्थापनार्थ सन १९८५ मा राजदरबार लगायत देशको विभिन्न ठाउँमा गरिएको ‘बम आक्रमण’मा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
माओवादीको नेतृत्वमा संचालित जनयुद्धमा समेत उल्लेखनिय भूमिका निर्वाहा गरेका यादवले जनयुद्धकालमा भारतिय सीमा वरपर सेल्टर तथा लजिस्टिक व्यवस्थापनको काम गरेका थिए । साथै भारतीय जनता, नेतासंग माओवादी नेताको सम्पर्क तथा सम्बन्ध स्थापित गराउन सक्रिय भुमिका रहेका थिए ।
त्यसैगरि नेपालको अन्तरिम संविधान-२०६३ मा संघीयता लेखाउन भएको मधेश विद्रोह, दोस्रो मधेस आन्दोलन, २०७२ सालमा जारी गरिएको संविधानमा मधेशी जनताको अधिकार सुनिश्चित नभएपछि ६ महिने नाकाबन्दी सहितको मधेस आन्दोलनमा समेत उनको सक्रिय भूमिका थियो ।
स्वर्गीय यादवलाई नजिकबाट चिन्नेहरुका अनुसार उनी अधिकार प्राप्तिको आन्दोलनमा निस्वार्थरुपले सहभागी हुन्थे ।
Discussion about this post