काठमाण्डाै – मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वकाे ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ र नेकपा एमालेको भातृ सङ्गठन युवा सङ्घले काठमाण्डाैमा एकै दिन एकै ठाउँमा शक्ति प्रदर्शन गर्ने भएपछि मङ्सिर ७ गते के हुन्छ भन्ने आमनागरिकमा जिज्ञासा र कौतुहलता व्याप्त थियो । तर सम्भावित झडपलाई मध्यनजर गरी प्रशासनले दुवैले प्रदर्शन गर्ने भनिएको माइतीघरमा प्रदर्शन गर्न नदिने निर्णय गर्‍याे । प्रशासनले माइतीघरलगायत सिंहदरबार, प्रधानमन्त्री निवास, राष्ट्रपति निवास, ललितपुरको मन्त्री निवास, यूएन हाउस क्षेत्रमा निषेधाज्ञा नै जारी गर्‍याे । निषेधाज्ञा पनि एक दिनको नभएर ३० दिनको जारी गर्‍याे ।

मङ्सिर ७ गते के हुन्छ भन्ने आमजिज्ञासा र चासोका कारण आज बिहानैदेखि सुरक्षा व्यवस्था कडा बनाइएको थियो । अघिल्लो दिन नै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन ट्राफिक प्रहरीले सार्वजनिक सूचना निकालेर आग्रह गरेको थियो । प्रहरीको सूचना तथा दुवै पक्षबीच हुनसक्ने सम्भावित झडपका कारण बिहानैदेखि गाडी कम चलेको थियो । केही स्कुलसमेत बन्द थिए । प्रहरीले सार्वजनिक तथा निजी गाडीका यात्रुलाई समेत सोधपुछ गरेको थियो ।

दुर्गा प्रसाईं नेतृत्व अभियानकाे शक्ति प्रदर्शनदुर्गा प्रसाईं नेतृत्व अभियानकाे शक्ति प्रदर्शन

माइतीघरमा दुवै पक्षलाई प्रदर्शन गर्न नदिने प्रशासनको निर्णयपछि प्रसाईँ समर्थकलाई बल्खुमा तथा युवा सङ्घलाई तीनकुनेमा विरोध कार्यक्रम गर्न दिने प्रशासनले निर्णय गरेको थियो । त्यसैअनुसार बिहान ११ बजेदेखि दुर्गा प्रसाईँका समर्थक बल्खुमा जम्मा भएका थिए । त्यस्तै युवा सङ्घका कार्यकर्ता तीनकुनेमा जम्मा हुन शुरु गरेका थिए । सम्भावित झडपलाई मध्यनजर गरी पूर्व–पश्चिम प्रदर्शनीस्थल तोकिए पनि सुरक्षाका लागि दुवैतर्फ ठूलो मात्रामा प्रहरीको उपस्थिति थियो ।

बल्खु क्षेत्रमा प्रहरीले प्रसाईं समर्थकलाई ललितपुर, कालिमाटी, कीर्तिपुर र कलङ्कीतर्फ नै रोकेको थियो । कलङ्की तर्फबाट आएकाे आफू समर्थकको भीड थपिएपछि आन्दोलनकारी हौसिएका थिए । यसैक्रममा कीर्तिपुर तर्फबाट मोटरसाइकलमा आएका युवा सङ्घका समर्थक र प्रसाईं समर्थकबीच झडप भएको थियो । यसपछि प्रदर्शन केही बेर शान्त भए पनि पछि फेरि ढुङ्गामुढा भएको थियो ।

बल्खुमा प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर कालिमाटीतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले अश्रुग्यास र पानीका फोहरा प्रहार गरेको थियो । प्रदर्शनकारीले भने प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेका थिए ।

बल्खुमा दुर्गा प्रसाईंले सम्बोधन गरेपछि एकजना प्रदर्शनकारीले मञ्चबाटै निषेधित क्षेत्र तोडेर अगाडि बढ्ने घोषणा गरेका थिए । त्यसपछि प्रदर्शनकारी बल्खुबाट कालिमाटीतर्फ अगाडि बढ्न खोज्दा प्रहरीले भीड नियन्त्रण गर्न पानीका फोहरा र अश्रुग्यास प्रयोग गरेको थियो । यसले त्यहाँको वातावरण निकै तनावपूर्ण बनेको थियो । याे प्रदर्शनीमा धर्मगुरुहरूकाे पनि सहभागी भएका थिए ।

प्रहरीले बल्खु क्षेत्रमा चारैतिरबाट प्रदर्शनकारीलाई प्रवेशमा रोक लगाएपछि उनीहरूले त्यहीँबाट राष्ट्रिय झण्डासहित चर्काे नारा लगाएका थिए । बेलुकी ५ बजेसम्म पनि प्रदर्शनकारी नारा लगाउँदै बसेका थिए । प्रहरी र प्रदर्शनकारीको बाक्लो उपस्थितिका कारण बल्खु क्षेत्र बेलुकासम्मै तनावपूर्ण बनेको थियो ।

युवा सङ्घको विरोध प्रदर्शनी रहेको तीनकुने क्षेत्र भने शान्त देखिन्थ्यो । त्रिभुवन विमानस्थलबाट तीनकुनेतर्फ आउने गाडीलाई चल्न दिइएको थिएन । युवा सङ्घका अध्यक्ष महेश बस्नेतलगायत अनेरास्ववियु तथा एमाले नेताहरूले पनि कार्यक्रमलाई सम्बोधन गरेका थिए । नेताहरूलाई सम्बोधनका लागि टिपरको व्यवस्था गरिएको थियो । जहाँ चढेर नेताहरूले मन्तव्य राखेका थिए ।

कार्यक्रममा आएकाहरू नचगान गर्दै रमाइलो गरिरहेका थिए । दुवैतर्फको प्रदर्शनीमा पानी, बदाम, चटपटे बेच्नेहरूले राम्रै व्यापार गरेका थिए । बल्खुको प्रदर्शनीमा भने राष्ट्रिय झण्डा बेच्नेहरूले पनि राम्रै व्यापार गरे । मानिसहरू नर्कटमा हालेर बेच्न राखिएको झण्डा खोज्दै हिँडिरहेका देखिन्थे ।

दुवै समूहको प्रदर्शनीका कारण काठमाण्डौको ट्राफिक व्यवस्थापन भने अस्तव्यस्त भएको थियो । सार्वजनिक गाडी कम चलेका कारण यात्रुले भने सास्ती बेहाेर्नुपरेकाे थियो ।