अपराध अनुसन्धानमा चुनौती बनेपछि प्रहरीले नियन्त्रणमा लियो ८३ अफलाइन राइडरलाई

हरियो पाटी

हरियो पाटी

513
SHARES
703
VIEWS

असाेज ३० काठमाडौं – पठाओ र इन-ड्राइभको नाममा अफलाइन राइड गरेको भन्दै प्रहरीले ८३ जना चालकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले ८३ जना अफलाइन राइड गर्ने चालकहरूलाई नियन्त्रणमा लिएको प्रवक्ता एवं एसपी कुमोध ढुंगेलले जानकारी दिए।

उनका अनुसार राइडरहरूले अफलाइन ड्राइभ गर्दा आपराधिक घटनामा अनुसन्धान गर्न चुनौती बनिरहेको छ।

कतिपय घटनाहरू पठाओ र इन-ड्राइभकै नाममा पनि भइरहेका छन्। कतिपय भने राइडरहरूको सहयोगमा अभियुक्तहरू भाग्ने गरेका छन्।

‘आपराधिक घटनाहरूमा राइडरहरूले अफलाइन राइड गर्दा अपराध अनुसन्धानमा समस्या देखिएको छ,’ एसपी ढुंगेलले भने,‘त्यसैले हामीले यसलाई नियन्त्रण गर्न खोजेका हौं।’

अहिले नियन्त्रणमा लिइएका राइडरहरूलाई प्रहरीले हिरासतमा राख्न लागेको भने होइन।

नियन्त्रणमा लिएर ती राइडरको विवरण कम्पनीमा कारबाहीका लागि दिइने एसपी ढुंगेलले बताए।

गत वैशाखमा काठमाडौंको कपन सरस्वती नगरमा निरा पाण्डेको पसलमा हत्‍या भएको थियो।

धारिलो हतियार प्रहार गरी भागेका अभियुक्तले अफलाइन राइडको प्रयोग गरी भागेका थिए। जसकारण प्रहरीलाई अनुसन्धान गर्न चुनौती देखिएको एसपी ढुंगेलले बताए।

पछि प्रहरीले अभियुक्तलाई झापाबाट पक्राउ गरी ल्याएको थियो।

त्यसैगरी अफलाइन राइडरहरू दुर्घटनामा परी यात्रुको मृत्यु भएपछि चालक फरार हुने घटना पनि हुने गरेको प्रहरीको भनाइ छ।

केही समयअघि अफलाइन राइड गरेका एक जना चालक आफैं अपहरणमा समेत परेका थिए। गत वर्ष माघमा एक जना पठाओ चालकलाई कोटेश्वरबाट अफलाइन राइड गर्न लगाएर धापाखेल पुर्‍याएपछि बन्धक बनाएर लुटपाट गरिएको थियो।

अफलाइन राइड गर्दा कम्पनीहरूले पनि बीमा सेवा दिँदैनन्।

प्रहरीले सर्वसाधरणलाई पनि अफलाइन राइड नगर्न अनुरोध गरेको छ।

‘विगतका केही आपराधिक घटनाहरूमा यस्ता सवारीहरूको संलग्नता देखिएको र सुरक्षा संवेदनशीलताको दृष्टिबाट सदैव जोखिम सिर्जना हुने भएका कारणले अफलाइन राइड सेयर नगर्नेतर्फ सचेत रहन सम्पूर्ण सरोकारवालाहरू तथा आम सर्वसाधरणहरूमा जिल्ला प्रहरी परिसर, काठमाडौं हार्दिक अनुरोध गर्दछ,’ परिसरले जारी गरेको विज्ञप्तिमा भनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित