काठमाण्डौ – धरानमा स्थानीय प्रशासन, प्रहरी, जनप्रतिनिधि, राजनीतिक दल, स्थानीयवासी लगायतको सुझबुझपूर्ण प्रयासका कारण एउटा सम्भावित घटना रोकिएको छ ।
धरानमा गौहत्या विरुद्ध प्रदर्शन हुने र त्यसको प्रतिकार समेत हुने चर्चाले हिजो धरानको शान्ति अवस्थाबारे चिन्ता व्यक्त गरिएको थियो ।
धरानको शान्ति व्यवस्था मात्र नभएर त्यसको असर अरु ठाउँमा पनि पुग्ने जोखिम रहेको बेला धर्मगुरुहरूसहित इटहरीबाट अघि बढेको र्याली तरहराबाटै फर्किएको छ ।
र्यालीमा सहभागीहरुलाई सुरक्षाकर्मीहरूले तरहरामै रोकेपछि उनीहरु त्यहीँ कोणसभा गरेर फर्किएका हुन् ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेपछि आज बिहानैदेखि धरानमा मानिसहरूको चहलपहल कम थियो ।
निषेधादेशका कारण धरान हुँदै कोशी राजमार्गमा चल्ने सार्वजनिक गाडी प्रभावित भए ।
धरानमा बजार भने आंशिक खुलेको थियो । सार्वजनिक यातायात बन्द रहेकामा टेम्पो र मोटरसाइकल लगायत केही निजी गाडी चलेका थिए ।
धरानमा गौहत्या भएको विवरण सार्वजनिक भएपछि धार्मिक संघसंस्थाले त्यहाँ र्याली र प्रदर्शनको आयोजना गरेका थिए ।
र्यालीका कारण हुनसक्ने सम्भावित मुठभेड टार्न धरान उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरेको र यसले सम्भावित चिन्ता टारेको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनुभयो ।
आज प्रहरीले धरानबाट बाहिरन दिए पनि धरान प्रवेशमा कडाइ गरेको थियो ।
धरानमा सामाजिक एकता कायम गर्न त्यहाँका पूर्व मेयरहरुले पहल गरेका छन् ।
यस्तै मेयर हर्क साम्पाङले पनि सामाजिक सद्भाव कायम राख्न आग्रह गर्नुभएको छ ।
धरानमा क्रियाशील राजनीतिक दलहरुले संयुक्त विज्ञप्ति निकालेर सामाजिक एकताको लागि आह्वान गरेका छन् ।
धरानमा हिजो सर्वदलीय, सर्वपक्षीय र्याली पनि निकालिएको थियो ।
विभिन्न संघसंस्था र नागरिक समाजले पनि सामाजिक सद्भाव र एकताको लागि पहल गरेका छन् ।
Discussion about this post