सिरहा,४ भदौं । सिरहामा विभिन्न कार्यक्रम गरी १७ औं राष्ट्रिय सूचना दिवस मनाईएको छ ।
सिरहा पुस्तकालयको आयोजनामा सूचना माँगौं, भ्रष्टाचार अन्त गरौं नारा सहित प्रभात फेरी र समुदाय जागरण अभियान अन्तर्गत सरोकारवालाको सहभागितामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सहिद राजेश ठाकुर पार्कदेखि निस्केको प्रभातफेरी सिरहा बजारको परिक्रमा गरी सिरहा पुस्तकालयमा पुगेर अन्तरक्रियामा परिणत भएको थियो ।
मधेश प्रदेशका पूर्वराज्यमन्त्री संजय कुमार यादवले सरोकारवाला निकायहरुले नागरिकलाई सूचनामा पहुँच बढाउने गरी स्वतः प्रकाशित गर्नुपर्ने बताएका छन् । सूचनाको आवश्यकता व्यक्तिको जीवनमा महत्वपूर्ण भएकोले सूचना लुकाउने काम रोक्दै सर्वसुलभ रुपमा सूचना पाउने वातावरण निर्माण गर्न सरोकारवाला निकायलाई आग्रह गरे । संविधानमै सुनिश्चितता नागरिकको सूचना पाउने हकको पूर्ण कार्यान्वयनमा पूर्वराज्यमन्त्री यादवले जोड दिए ।
सार्वजनिक निकाय, नीजि संस्था लगायतले नागरिकलाई सूचनाको हक उपभोग गर्ने विषयमा कुनै बाधा अडचन खडा गर्न नहुने मधेश प्रदेश सभाका सांसद जिवछी कुमारी यादवले बताएकी छिन् । सूचनाको हक प्रयोग गर्दा दुरुपयोग गर्ने विषयमा सजग हुनुपर्ने सांसद यादवले बताएकी छिन् ।
सूचनाको हक ब्यबहारमा राम्रोसँग लागू भयो भने धेरै पक्षलाई काम गर्न सहज हुने स्काउट नेपालका प्रदेश संयोजक दिनेश कुमार यादवले बताए । सूचनाको हकलाई व्यवहारमा लागू गराउन सिरहा पुस्तकालयलाई सूचना केन्द्रको रूपमा विकसित गर्न उनले सुझाव दिए ।
जिल्ला स्तरमा सार्वजनिक निकायलाई निगरानी गर्ने जिम्मेवारी सहायक प्रमुख जिल्ला अधिकारीको हुने भएकोले सूचनाको हक ब्यबहारमा लागू भए नभएको कुरालाई समेत विशेष निगरानी बढाइदिन सप्रजिअसंग उनले आग्रह गरे ।
सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले सूचना नदिदा पुनरावेदन गर्नुपर्ने अवस्था जिल्लामा देखिएको बताए । मौलिक हकमा नै सूचनाको हक रहेको भन्दै सहायक प्रजिअ पौडेलले सहज रुपमा सूजना दिई कारबाहीबाट बच्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् । जिल्लामा सूचना माग्दा नदिने गरेको गुनासो जिल्ला प्रशासनमा पनि आएको र त्यसमा छानबिन भईरहेको भन्दै उनले सूचना नदिने सरोकारवालालाई कारबाही समेत भएकोतर्फ ध्यानआकर्षित गराए ।
सूचनाको हक सम्बन्धी अभियानमा लागेका दुईजनालाई सम्मान गरिएको छ । सूचनाको अभियान सफल बनाउन लामो समयदेखि लागेका पत्रकार बद्रीनारायण यादव र सूचना अभियन्ता परशुराम साहलाई खाद्या ओढाएर सम्मान गरेको हो । सिरहा पुस्तकालयका अध्यक्ष सुरेन्द्र कुमार कामतिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सूचनाको हक सम्बन्धीको कार्यपत्र सूचना अभियन्ता साहले प्रस्तुत गरेका थिए ।
२०६४ साल साउन ५ गते सुचनाको हकसम्बन्धि ऐन प्रमाणीकरण भई भदौ ३ गतेदेखी लागु भएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बु,नागरिक अगुवा चन्देश्वर प्रसाद यादव, सञ्चारकर्मी बैधनाथ यादव लगायतले सूचनाको हकसम्बन्धी आफ्नो विचार व्यक्त गरे ।
Discussion about this post