काठमाण्डाै – निर्वाचन आयोगले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई आचारसंहिताविपरीत काम गरको भन्दै स्पष्टीकरण सोधेको छ । आयोगले आज बारा जिल्ला क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य उपचुनाव भइरहेको अवस्थामा चुनावको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी आचारसंहिता विपरीत हुने कार्य गरेकाले २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको आयोगले जनाएको छ ।
मुख्यमन्त्री यादव के कति कारणबाट पचरौता नगरपालिका क्षेत्रमा जानु भएको हो ? भनी स्पष्टीकरण सोधिएको आयोगले निकालेको विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा भनिएको छ : ‘तपाईँ त्यहाँ जाँदा प्रयोग गरेको गाडी र सुरक्षा व्यवस्था सरकारी हो, होइन ? तपाईँको यो कार्यले पदको गरिमा र निर्वाचन आचार संहिता, २०७९ को दफा ५ को उल्लङ्घन हुन्छ, हुँदैन ? निर्वाचन आचारसंहिता उल्लङ्घन गरेकोमा तपाईँलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिम कारबाही किन नगर्ने ?
बारा २ मा सत्ता गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्रप्रसाद कुसवाह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पूर्वडीआईजी रमेश खरेल र एमालेबाट पुरुषोत्तम पौडेलबीच प्रतिस्पर्धा छ । बारा क्षेत्र नम्बर २ सहित चितवन २ र तनहुँ १ मा उपचुनाव भइरहेको छ । unn.com.np बाट
Discussion about this post